Logo

जेलभित्रैबाट रेशम चौधरीको आरोप- टिकापुर घटनाको दोषीलाई राज्यले जोगायो



काठमाडौं, २९ जेठ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी यतिबेला काठमाडौंको डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका छन् ।

टिकापुर घटनामा मुख्य दोषी बनाएर अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको छ । तर, उनले भने आफु निर्दोष भएको बताएका छन् । घटनाको वास्तविकता सरकारलाई जानकारी भएको भन्दै उनले दोषीलाई राज्यले नै जोगाएर राखेको दाबी गरेका छन् । ।

उनकी श्रीमती तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले सामाजिक सञ्जालमा लेखेकी हुन् । ‘वास्तविकता राज्यलाई थाहा छ । दोषीलाई राज्यले नै जोगाएर राखेको छ । बरु तिनलाई पुरस्कार दिइएको छ । राजनीतिक लाभ दिइएको छ । कहिलेकाहीँ त निकै हाँसो पनि उठछ राज्यले उल्टो तिनैलाई वार्ता टोलीको संयोजक बनाएर पठउँदा ।’ उनले लेखेकी छिन्,‘पछिल्लोपटक सबैले हामीलाई निर्दोष भन्न थालेका छन् । पूर्व वर्तमान सबै प्रधानमन्त्रीले यथार्थ स्वीकार गरिसके । तैपछि अझै हामी जेलमा छौं ।’-उनले लेखेका छन् ।

उनले भावुक हुँदै लेखेका छन्,‘टीकापुर घटनाले गुमाउन केही बाँकी रहेन । घर, गाडी सञ्चालन गरेको रिसोर्ट, एफएम सबै सरकारी कर्फ्युका बीचमा स्वाहा भयो । मेरो भौतिक सम्पत्ति जल्यो ।’

उनले लेखेका छन्,‘गरौंला धेरैले भने तर कहिल्यै भएन । हुन्छ सबैले भन्छन् तर हुँदैन रहेछ । गन्तव्यको सारथी अर्कोलाई बनाएर लक्ष्य भेटिँदैनरहेछ । त्यसैले सडे पनि अलि दिन सडुँला । मन बलियो बनाएर कठोर निर्णय गरेँ, आफ्नै बाटो लाग्ने । कसैका सामु नगिडगिडाउने, याचना नगर्ने, किच्चडबाट उम्किन आफैँ प्रयत्न गर्ने ।’

उनले निरास भाव प्रकट गर्दै लेखेका छन्, ‘बेला भइसकेको त छैन तर विकल्प भएन । यहाँसम्मको राजनीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद । कसैसँग केही गुनासो छैन । धेरै कुरा सिकाउनुभो धन्यवाद । गोता लगाएर मोती भेटाउन नसके पनि राजनीतिक गोताखोर जरुर भइयो । राजनीति यस्तै रहेछ, सत्य असत्य, असत्य सत्य । इमानीभन्दा बेइमानीहरुले अंक बढी प्राप्त गर्दा रहेछन् । कार्यकर्ता बेचेर पद प्रतिष्ठा आर्जन गर्ने प्रचलन रहेछ । झुट, इमान, कार्यकर्ता बेच्ने कलामा निपुन भएपछि बल्ल राष्ट्रवादी नेता भइँदो रहेछ ।’

उनले अन्तिममा लेखेका छन्,‘अन्ततः विकल्प नदेखेपछि बाटो पहिल्याउने निर्णय गरेँ । कसैसँग केही गुनासो छैन । राजनीतिक यात्रामा फेरि कुनै न कुनै दिन जरुर सहयात्री भइएला । त्यसैले आङको छारो उडाएर आफ्नै मयल देखाइ फोहोरी कहलिनु छैन मलाई । अबको वैकल्पिक यात्रामा सहानुभूति जरुर होस् ।’

चौधरी जेलमा रहेरपनि आफु संस्थापक भएर श्रीमती रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टीको स्थापना गरे । र, उनको पार्टीले गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ४ स्थानीय तहमा जित हासिल गर्न सफल भएको छ। आगामी चुनावमा पनि उम्मेदवारी दिने र जित हासिल गर्ने लक्ष्यका साथ पार्टी अघि बढेको छ।

 



प्रतिक्रिया दिनुहोस्