Logo

बगुवा पुनर्वास खानेपानी आयोजना अन्तिम चरणमा



काठमाडौँ,२९ जेठ । गोरखाको भीमसेन थापा गाउँपालिका–५, बगुवामा झण्डै रु एक करोड ६० लाखको लागतमा निर्माण भइरहेको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । बगुवाको लामाचौर अमरबस्ती, रिट्टेपानी, भोटेनीलगायत क्षेत्रका बासिन्दालाई स्वच्छ खानेपानीको पुहँच पु¥याउन उक्त आयोजना निर्माण भइरहेको पूर्व वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठले जानकारी दिए ।

विसं २०७४ देखि क्रमागत योजनाअन्तर्गत निर्माण भइरहेको उक्त आयोजनाबाट डवल लिफ्टििङ गरेर बगुवाको गैराबस्तीमा ७५ घरमिटरको ट्याङ्की निर्माण गरी खानेपानी वितरण गर्न लागिएको उनले बताए । ‘झण्डै डेढकिलोमिटर मुनि देवीढुङगा पाण्डे गाउँमा खानेपानीको मूल छ, उनले भने, “मुहानमा मात्र ५० घनमिटरको ट्याङ्की निर्माण गरिएको छ ।”उक्त आयोजनाअन्तर्गत लामाचौरको एकीकृत मिलनबस्तीमा पनि ५० घनमिटर क्षमताको ट्याङ्की निर्माण गरी मिलनबस्तीका झण्डै २५० घरधुरीलाई खानेपानी वितरण गरिँदै आइएको उपभोक्ता समितिका अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिए । ‘क्रमागत योजना रहेकाले अघिल्लो वर्ष यही आयोजनाबाट मिलनबस्तीमा ट्याङ्की निर्माण गरी खानेपानी वितरण गरिसकेका छौँ, उनले भने, “अब गैराबारीमा पनि यहीँ असारभित्र काम सम्पन्न गरी खानेपानी वितरण गरिने योजना छ ।”

अध्यक्ष श्रेष्ठले गैराबारीमा ७५ घनमिटर ट्याङ्की निर्माणको काम सम्पन्न भइसकेको बताए । “अब घर–घरमा खानेपानी पु¥याउनका लागि मुख्यबस्तीसम्म पाइप पु¥याउने तथा बस्तीदेखि घरघरमा पानीको पाइप जडानको काम बाँकी छ,” उनले भने, “त्यसका लागि पाइप गाड्न डोरेटो बाटो खन्ने काम भइरहेको छ ।”

विद्युत्को अभावमा पानी तान्न समस्या नहोस् भनेर आयोजनमा सोलार र बिजुली दुवै माध्यमबाट पानी तान्न सक्ने गरी व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताए । आयोजना निर्माणका लागि कूल बजेटको २० प्रतिशत उपभोक्ताको जनश्रमदान रहने उनले जानकारी दिए । उक्त आयोजनाबाट झण्डै ६०० घरपरिवार लाभान्वित हुनेछन् । अहिले त्यस क्षेत्रका बासिन्दाले माछापोखरी धारा, सरस्वती देवीस्थानका धारा तथा चिहान कुवाँबाट पानी बोकेर ल्याएर पिउने गरेको वडाध्यक्ष होमबहादुर बरामुले उल्लेख गरे । स्वच्छ पिउने पानीको अभाव झेलिरहेका बगुवावासीले उक्त आयोजना निर्माण भएपछि खानेपानीको अभाव झेल्नु नपर्ने अपेक्षा गरेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्