Logo

“प्रेम आलेले १८ जना सांसद लिएर माधव नेपाललाई संसदीय दलको नेताबाट हटाउन लागेका हुन् ?”



काठमाडौं, ९ असार । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद सोमप्रसाद पाण्डेले पार्टीलाई बदनाम गराउन विभिन्न अफवाह फैलाएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने, “संसदीय दलको नेता हटाउने कुनै चलखेल भएको छैन । तपाईंले भनेका १८ जनाभित्र म पनि पर्छु । माधव नेपाल पनि पर्नुहुन्छ । यो सबै पार्टीलाई बदनाम गराउने र गठबन्धन टुटाउने षडयन्त्र हो । पार्टी पनि फुट्दैन, गठबन्धन पनि टुट्दैन ।”
नेता पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा एकीकृत समाजवादीले पठाएका मन्त्रीलाई शपथग्रहण गराउन तयार भएको पनि बताए । उनले भने, “माधव नेपालले प्रधानमन्त्रीसँग सल्लाह गरेरै पार्टीबाट नयाँ मन्त्रीको नाम पठाउनुभएको हो । राष्ट्रिय सभामा बजेटको टुंगो लाग्नेबित्तिकै मन्त्री साथीहरु पनि फिर्ता हुनुहुन्छ, शपथग्रहण पनि हुन्छ । म बहालवाला मन्त्री साथीहरुसँग पनि सम्पर्कमै छु । उहाँहरु पनि नकारात्मक हुनुहुन्न ।”
मन्त्री फिर्ता गर्ने निर्णयबाट पार्टी ब्याक नहुने पनि उनले बताए । पाण्डेले भने, “मन्त्री फिर्ता गर्ने सचिवालयको निर्णय स्थायी कमिटीले अनुमोदन गरिसकेको छ । यसबाट पार्टी ब्याक हुँदैन । हामीले १८ दिन पर्खिसकेका छौं । प्रधानमन्त्रीले गठबन्धनको घटकको निर्णय मान्नुपर्छ । हामीले ठूलो जोखिम लिएर उहाँलाई प्रधानमन्त्री बनाएका हौं । प्रधानमन्त्री शपथग्रहणका लागि तयार हुनुहुन्छ । जोडकोण मिलाउन अलिकति ढिला भएको मात्र हो ।”
आगामी संघ र प्रदेशको चुनावमा गठबन्धनभित्र सिटको संख्या मिल्ला भन्ने पत्रकार धमलाको प्रश्नमा पाण्डेले थपे, हामी अहिले त्यो निर्णयको प्वाइन्टमा पुगेका छैनौं । संख्या तोकिसकिएको छैन । को उठ्दा जित्छ, उसलाई उम्मेदवार बनाउँछौं । तर प्रदेश र संघको चुनावसम्म गठबन्धन टुट्दैन ।”
महँगी बढ्नुमा व्यवस्थापकीय कमजोरी पनि देखिएको सांसद पाण्डेले औंल्याए । उनले भने, “राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिरिस्थतिले महँगी बढेको हो । महँगी नियन्त्रणका लागि सरकारले विशेष योजना बनाउनुपर्छ।” साथै उनले बजेटको छलफल सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोगमाथि संसदमा छलफल हुने पनि बताए ।

 



प्रतिक्रिया दिनुहोस्