Logo

उत्ताउला नेताहरूबाट देशको हित हुन सक्दैनः लोकराज बराल



काठमाडौं, १७ असार । कूटनीतिज्ञ लोकराज बरालले नेताहरुको उत्ताउलो पाराले मुलुकको हित नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कूटनीतिज्ञ बरालले भने, “कुनै घटनामा तलमाथि हुनासाथ कहिले सरकार भारतमुखी भयो भन्दिने, कहिले चीनमुखी भयो भन्दिने, कहिले अमेरिकामुखी भन्दिने चलन छ । हामी अहिले, भारत, चीन वा अमेरिका कसैको पनि विरोधमा जान सक्दैनौं । अहिले सरकार एक चीन नीतिविरुद्ध गयो भन्न थालेका छन् । नेपालले चीनविरुद्ध अमेरिकी फौज राखेको छ र ? सम्बन्धमा उतारचढाव सामान्य कुरा हो । नेताहरु नजिकको छिमेक भनेर उत्ताउलो कुरा गर्छन् । कहिले भेनेजुएलासँग नजिक हुन खोज्छन् । कहिले सीजिनपिङ विचारधाराको प्रचार गर्छन् । यो वाहियात कुरा हो । नेताहरु संयमित हुन जान्दैनन् । हौसिन्छन् मात्र ।”
के चीनले कम्युनिस्टहरुलाई मिलाउन सक्छ भन्ने पत्रकार धमलाको प्रश्नमा बरालले भने, “पहिले पनि नेकपा केपी ओलीजीकै कारण फुटेको हो । फेरि सहकार्य हुन्छ भन्ने लाग्दैन । ओलीजीले अलिकति लचिलो भएर सर्त मानिदिएजस्तो गरेर एकता गर्न पनि सक्छन् । तर सोह्रैआना मिल्छन् भन्न म सक्दिनँ । उनीहरु मिलिहाले पनि नेपाली कांग्रेसले एक्लै लडे हुन्छ । किन गठबन्धन गर्नुपर्यो ? अहिले सजिलै छ । मिलेर लड्ने हो भने पनि सयभन्दा तल गएर मिल्नुहुन्न । त्यसरी मिले नेपाल कांग्रेस सिद्धिन्छ । कम्युनिस्टहरुकै हातमा जान्छ सत्ता ।”
अर्को प्रसंगमा उनले भारतसँगको सम्बन्धमा नयाँपन नभएको पनि बताए । बरालले भने, “भारतसँग नेपालको सम्बन्ध बिग्रेको पनि छैन, सप्रेको पनि छैन । ठीकै छ । तर नयाँ कुरा केही भएको छैन । तर हामी जनस्तरमा भारतसँग नजिक छौं । चीन र भारतसँगको सम्बन्धमा आधारभूत फरक छ ।”
पार्टीहरु फुट्नु स्वाभाविक रहेको उनले टिप्पणी गरे । बरालले भने, “कम्युनिस्टहरुको इतिहासै त्यस्तो छ । १९, २० चिरा परेको छ । आश्चर्यको कुरा भएन । उनीहरुको फुट सिद्धान्त, संगठन र मिसनमा आधारित होइन व्यक्तिकेन्द्रित छ । स्वार्थपूर्ति नभए छुट्टिहाल्छ्न । अहिले उपेन्द्र यादव नेतृत्वमा कोही नआओस् भन्ने चाहन्छन् । बाबुरामजी पूर्वप्रधानमन्त्री भइसकेका विचार हुन् । मधेस, पहाड मिलाएर नयाँ दल बनाउने उनको सोच राम्रो थियो । अब पनि बाबुराजमीले नयाँ पार्टी खोल्ने, अर्को पार्टीमा ज्वाइन गर्नुभयो भने त्यसको कुनै अर्थ छैन । उहाँ व्यक्तिगत रुपमा अलग भएर बस्दा नै राम्रो हुन्छ ।”
अर्को प्रसंगमा राजनीतिशास्त्री बरालले नेपाली कांग्रेसको नेतृत्व दिशाहीन भएको बताए । उनले भने, “कांग्रेसको नेतृत्वमा कुनै चिन्तन छैन । ६ महिनासम्म संगठन बनाउन सक्दैन, भातृसंगठन चलाउन सक्दैन र आफ्नो मात्र हित हुने टाकनटुकन काम गर्ने पनि नेतृत्व हुन्छ ?”

 



प्रतिक्रिया दिनुहोस्