Logo

गठबन्धन तोडेर ओली, प्रचण्ड र माधव नेपाल मिलाउन वामदेव सफल होलान्



काठमाडौं, १७ असार । यतिबेला वामदेव गौतम नेकपालाई ब्युँताउने कसरतमा छन् । यो सजिलो भने छैन । नेकपा फुटेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः जिवित भइसकेको छ । एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बनिसकेको छ ।

केपी शर्मा ओली र माधवकुमार नेपालबीच पानी बाराबार नै छ । ओली र प्रचण्ड पनि कुनै औपचारिक भेटवार्ता नभएको एक वर्ष हुन लागिसकेको छ ।

वामदेव भने ओली, प्रचण्ड र माधव नेपाल मिलाउन लागेका छन् । उनले १६ असारमा ओलीलाई बालकोटमा भेटे । त्यसपछि प्रचण्डलाई खुमलटारमा भेटेर साँझ अबेर कोटेश्वर पुगेर माधव नेपाललाई भेटेका छन् । सबै भेटमा उनले नेकपा पुर्नजिवित गर्ने प्रस्ताव गरेका छन् ।

वामदेवले स्पष्ट दुईवटा विषय राखेको विश्वस्त स्रोतले बताएको छ । जसमा नेकपा फेरि ब्युँतिएन भने नेपाली काँग्रेसले बहुमत ल्याउँछ र मुलुकमा कम्युनिस्टहरु सदाका लागि कमजोर बन्नेछन् । अर्को विषय भनेको काँग्रेस सत्तामा आयो भने देश संकटमा पर्दै जान्छ भन्ने वामदेवको तर्क छ ।

वामदेवले तीनवटै भेटहरुमा देशमा बाह्य हस्तक्षेप बढेको र राष्ट्रिय कमजोर भएको विषय पनि उठाए । उनले विशेषगरी अमेरिका हावी हुँदै गएको र यसले अन्तगत्वा कम्युनिस्टलाई कमजोर बनाउँदै लाने तर्क गरे । बेलैमा सचेत भएर नेकपा नबनाए ठूलो समस्या आउने बताए ।

वामदेवको प्रस्तावमा ओली, प्रचण्ड र माधव नेपाल सकारात्मक भएको बुझिएको छ । तर, तीन नेताको मिलनको सम्भावना भने कमजोर छ । सत्ता गठबन्धन तोडिहाल्नेमा प्रचण्ड र माधव नेपाल तयार छैनन् । तर, असम्भव भने छैन । गठबन्धनमा गतिरोध देखिएकै छ । गौतम भने उत्साही भएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्