Logo

उपेन्द्र यादवको चलाखीः बाबुरामको गुट छाड्नेलाई मन्त्री



काठमाडौं, २० असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराईलाई धक्का दिने गरी उनीनिकट मानिएकालाई साथमा लिएका छन् । आफ्नाविरुद्ध लामो समययता लागेकाहरुलाई उपेन्द्रले रातारात गुट परिवर्तन गराउन सफल भएका छन् ।

जसपाभित्र अल्पमतमा पर्ने अवस्थामा पुगिसकेका उपेन्द्रले अन्तिम समयमा राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई र प्रदिपकुमार यादवलाई मन्त्री बनाउने आश्वासन दिए । उनले गत हप्ता रातारात कार्यकारिणी बैठक डाकेर मन्त्री हेरफेरको निर्णय मात्र गराएनन् आफैलाई नामबारे टुंगो लगाउने अधिकार लिए ।

१९ असारको साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उपेन्द्रले चार मन्त्री फिर्ता बोलाएर नयाँको नाम सिफारिश गरे । जसमा मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, मृगेन्द्रकुमार सिंह र प्रदिपकुमार यादव छन् । राई र यादव लामो समययता बाबुराम भट्टराईको पक्षमा छन् । श्रेष्ठ अशोक राई पक्षधर हुन् । उनी बहालवाला मन्त्री पनि हुन् ।

उपेन्द्रले बाबुरामसँग रहेकाहरुको नाम मन्त्रीमा सिफारिश गरिदिए । अर्कोतर्फ, अशोक राईलाई पक्षमा पार्न राजेन्द्र श्रेष्ठलाई मन्त्रीमा यथावत् राखे । यसरी बाबुराम भट्टराई कार्यकारिणी र संसदीय दलमा लगभग एक्लिन पुगेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्