Logo

‘अपहरणको एम्बुस थाप्ने’ सुरेन्द्र यादवलाई फेरि झड्का



काठमाडौं, २० असार । तत्कालीन संघीय समाजवादी पार्टी फुट्न लाग्दा बचाउन सांसद डा. सुरेन्द्र यादवको भूमिका महत्वपूर्ण रहेको छ । फुटका लागि तयारी पूरा भएपछि महोत्तरीबाट प्रत्यक्ष निर्वाचिन यादव केपी शर्मा ओली सरकारमा स्वास्थ्यमन्त्री बन्ने पक्कापक्की भएको थियो ।

यादवको घरमै पुगेका थिए एमाले नेता महेश बस्नेत, तत्कालीन एमालेमा रहेका र निवर्तमान मन्त्री किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनाल ।

उनीहरुले यादवकै घरमा खाना खाइवरी काठमाडौंमा पुगेको भोलिपल्टै सुरेन्द्र यादव मन्त्री बन्ने भन्दै परिवारसँग बिदा भएर आएका थिए ।

यादवसँग साथमा सांसद उमाशंकर अरगरिया पनि थिए । उनको सुरक्षागार्ड पनि साथमै थिए । सँगै आएका सुरेन्द्र यादवको साथ मिल्नेवित्तिकै रेणु यादव, प्रदीप यादव, उमाशंकर अरगरियालगायतले उपेन्द्र नेतृत्वको तत्कालीन समाजवादी पार्टी फुटाउने कदम चाल्दै थिए ।

होटल मेरियटमा एक रात बसेका सुरेन्द्र भोलिपल्ट विहानै त्यहाँबाट निस्किए । उनले अपहरणको एम्बुस थापे । आफूलाई अपहरण गरिएको आरोप लगाए । प्रहरीमा मुद्दा समेत दायर गरे । समाजवादी पार्टी तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकीकरण भयो रातारात । यसमा सुरेन्द्र यादव पनि मुख्य कारण रहे । तर, उनै सुरेन्द्र यादव निरन्तर पेलाईमा परे ।

विगतमा स्वास्थ्यराज्यमन्त्री भएका यादवलाई मन्त्री बनाउने आश्वासन पटक पटक दिइयो । देउवा सरकारमा उनले अघिल्लोपटक पनि अवसर पाएनन् । यसपटक पनि उनको नाम सिफारिश भएन । उनले निरन्तर झड्का खाए ।

उपेन्द्र यादवको साथमा रहेका डा. सुरेन्द्र यादवले तत्कालीन समाजवादी पार्टीलाई जोगाउन सञ्जीवनी बुटी त दिए तर उनको राजनीतिक भविष्य नै समाप्त पार्ने गतिविधि त्यहींबाट भएको छ । उनी अवसरबाट वञ्चित गरिएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्