Logo

बाबुराम भट्टराईले पार्टीमा बस्दिनँ भन्नुभयो भने हामी रोक्न सक्दैनौंः नवनियुक्त मन्त्री यादव



काठमाडौं, २१ असार । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रप्रसाद सिंह यादवले बाबुराम भट्टराईलाई नरोकिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै जनता समाजवादी पार्टी (जसपा)का नेता समेत रहेका यादवले भने, “वादविवाद सबै पार्टीमा हुन्छ । हाम्रो पार्टीमा पनि छ । बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष हो । तर पूर्वनयाँ शक्ति पार्टीका साथीहरुलाई एडजस्ट गर्न सकिनँ भन्नुभएको छ । उहाँको ठूलो व्यक्तित्वलाई सिध्याउने मनसुवा कसैले राख्दैन, सिध्याउन पनि सक्दैन । उहाँले पार्टीमा बस्दिनँ भन्नुभयो भने पनि उहाँलाई कसैले रोक्न सक्दैन । मलाई विश्वास छ, उहाँ पार्टी छाडेर जानुहुन्न ।”
यादवले भट्टराईलाई पार्टीमा सबैभन्दा सम्मानित स्थान दिइएको पनि दाबी गरे । उनले भने, “पार्टीले उहाँलाई सदैव मानसम्मान दिँदै आएको छ । वैकल्पिक शक्ति बनाउने महान् विचार र सोच लिएर उहाँ जसपामा आउनुभएको हो । उहाँको पक्षलाई प्रदेश प्रमुख, राजदूत पनि दिएकै हो ।”
पार्टी अध्यक्ष उपेन्द्र यादवले एकलौटी नगरेको पनि उनले दाबी गरे । यादवले भने, “उपेन्द्र यादवले मन्त्री फेरबदलबारे संसदीय दल र कार्यकारिणी समितिमा छलफल गर्नुभएको थियो । पार्टीले उहाँलाई नै जिम्मा दियो । मन्त्री फेरबदलको पहिले नै सहमति थियो । आफूलाई हटाउन लागेकालाई मन्त्री बनाउनुभएको होइन ।”
आफू वीरगन्जको केन्द्रीय समिति बैठकमा जाने उनले बताए । यादवले थपे, “मलाई बाबुरामले बैठक बोलाएको मलाई थाहा छैन । मलाई वीरगन्जको बैठक गर्ने भनेर आधिकारिक पत्र आएको छ । म त्यहीँ जान्छु ।”
किसानलाई समयमै मल उपलब्ध गराउन लाग्ने पनि मन्त्री यादवले बताए । उनले भने, “मल पाउने किसानको हक हो । हाम्रो देशमा मल कारखाना छैन । टेन्डर भएर पनि मूल्यवृद्धिका कारण ठेकेदारले मल ल्याएनन् । जीटुजीमार्फत भारतबाट ल्याएर सरकारलाई दिलाउँछौं । म त्यो समस्या समाधानमा सक्दो प्रयास गर्छु ।”



प्रतिक्रिया दिनुहोस्