Logo

छाउन थाले तीज गीत



बागलुङ, ३ साउन । दश दिनमै ३० लाख बढी ‘भ्युज’ बटुल्दै तीज गीत ‘झमझम झम्काना’ युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा कायम छ । म्युजिक भिडियोले ६६ हजार लाइक पाएको छ भने छ हजार बढीले गीतमाथि टिप्पणी गरेका छन् ।

भगिरथ चलाउने र सुनिता बुढा क्षेत्रीले स्वर दिएको उक्त गीत दर्शक÷स्रोताको रुचाइमा परेको हो । बमबहादुर गाहा मगरको शब्द रहेको गीतमा सङ्गीत पनि गायक चलाउनेले नै दिएका छन् । गीत टिकटक प्रयोगकर्तामाझ पनि लोकप्रिय बनेको छ ।

मनछुने भाका, शब्द र सुरिलो गायकीले गीतमा प्राण भरेको छ । कलाकार नीता ढुङ्गाना र गायक चलाउनेको अभिनय÷नृत्यले दर्शकलाई सजिलै भुलाइदिन्छ । गीतमा प्रेम र सौन्दर्यको चर्चा छ । प्रेमीप्रेमीकाबीचको मायावी संवादले गीतलाई सरल र श्रुतिमय बनाएको छ ।

प्रेमीका भन्छिन्–
‘लजाउँछु एक्लै हेरेर ऐना
हा…है… झमझम झम्कना लाउँ की नलाउँ म
राम्री नी हैन, छ्या भन्नी छैन
हा…है…मायालुले आउ भन्छ बेलुका जाउँ की नजाउँ म’

प्रेमी जवाफ फर्काउँछन्–
‘उडेर जाउँ की, गुडेर जाउँ की
हा…है…कालो चश्मा आँखैमा लाउँ की नलाउँ म
उनलाई मन पर्ने कपडा लाउँ की
हा…है…मायालुले आउ भन्छ बेलुका जाउँ की नजाउँ म’

तीजको मौसमी सङ्गीत बजारमा चर्चा पाएको अर्को गीत हो– ‘ओम् भोले’ । दुई हप्ताअघि युट्युबमा सार्वजनिक उक्त गीतलाई अहिलेसम्म १३ लाख बढी पटक हेरिएको छ । गीतमा गायक खुमन अधिकारी र शान्तिश्री परियारको स्वर छ । रविन लामिछानेको शब्दमा गायक अधिकारीले नै सङ्गीत दिएका छन् ।

गीतको म्युजिक भिडियोमा गायक अधिकारी, कलाकार अञ्जली अधिकारी र अभिषेक खड्काको अभियन देख्न सकिन्छ । गायक अधिकारीले सालिन्दा तीज गीत निकाल्ने गरेका छन् । गत वर्ष तीजमा उनले ल्याएको ‘कुरा काट्न’ गीतले युट्युबमा एक करोड बढी ‘भ्युज’ पाएको थियो ।

‘जाउँ न माया सरर गाडीमा’, ‘हाइ माया’, ‘ए आम्मै’, ‘ढुङ्गे धारा’लगायत तीज लक्षित गीत अहिले युट्युबमा छाएका छन् । कति चर्चामा छन् त कुनैले ‘भ्युज’का लागि सङ्घर्ष गरिरहेका छन् । अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । सङ्गीतप्रेमी स्रोता÷दर्शक तीज गीततिर डोरिएका छन् ।

यसपालि तीज पर्व भदौ १४ मा छ । पर्व नजिकिएसँगै तीजका भाका पनि गुञ्जित थालेका हुन् । तीजको याम सुरु भएपछि कलाकारले अरु विधाका गीतलाई थाती राख्छन् । तीज गीतले सधैँ चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । लोकगायक विष्णु खत्रीले पनि सोमबार तीज गीत ‘बिग्रेकी केटी’ सार्वजनिक गरेका छन् । उनको आफ्नै युट्युब च्यानलबाट आएको गीतलाई केही घण्टामै हजारौँ पटक हेरिएको छ ।

गायक खत्रीको शब्द र सङ्गीत रहेको गीतमा गायिका प्रीति आलेले स्वर दिएकि छिन् । गीतमा आधुनिकतासँगै बदलिएकी ‘केटी’को अनुभूति अभिव्यक्त छ । फेरिँदो समयलाई आत्मसाथ गर्दा ‘बिग्रेको’ भन्न नमिल्ने तर्क अघि सारिएको छ । गीतको म्युजिक भिडियो पनि रोमाञ्चक छ । गायिका आले र कलाकार हरिस निरौलाले अभिनय गरेका छन् ।

बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ । पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । कलाहीन र तडकभडकयुक्त गीतले तीजको मौलिकता र मर्मलाई आत्मसात् नगर्ने कला मर्मज्ञ बताउँछन् । तीज गीतको मर्म र भावना खल्बलाउन नहुनेमा उनीहरुको जोड छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीर, वेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो । अहिलेका तीज गीत भने रोधीघरको दोहोरीजस्ता सुनिन थालेका छन् । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाई समेत तीज गीतमा उठान गरिएको पाइन्छ । तीज गीतमा पनि पुरुष कलाकारकै बर्चश्व देखिन थालेको छ ।

क्यासेट र सिडीको जमाना गएपछि कलाकार अहिले युट्युबकै भरमा छन् । प्रविधिमा ठूलो परिवर्तन आएको छ । सङ्गीत बजार युट्युबमा केन्द्रित छ । कुनैसमय गीत सुनिन्थ्यो मात्र, अहिले हेरिन्छ पनि । सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर छ । युट्युब, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल नचहारेसम्म बजारमा नयाँ कुन गीत आयो भन्नेसम्म थाहा पाउन नसकिने स्थिति छ । सर्जक÷कलाकारलाई युट्युब माध्यम निर्विकल्प बनेको छ ।
राम्रो सिर्जना र विषयवस्तु युट्युबमा दिन सके लगानी खेर नजाने कलाकार बताउँछन् । गीतको बलमा जतिधेरै ‘भ्युज’ बुटल्न सक्यो त्यसकै आधारमा पैसा आर्जन हुन्छ । गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको सङ्ख्याका आधारमा कलाकारको युट्युबमा राम्रो रकर्ड रहने गर्छ ।

सुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । पछिल्लो समय युट्युब कलाकारको व्यावसायिक थलो मात्र नभएर व्यक्तित्व चिनाउने माध्यम पनि बनेको छ । राम्रो भ्युज पाउँदा पैसा पनि आउँछ र कलाकारको व्यक्तित्व पनि माथि उठ्छ ।

पैसा आउने कुरा विज्ञापनसँग पनि बढी जोडिएको हुन्छ । गीतको बीचमा युट्युबले अन्तर्राष्ट्रिय ब्राण्डका विज्ञापन राख्दा बढी पैसा आउँछ । व्यावसायिकरुपमा युट्युबको प्रक्रियामा छिर्न तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot