Logo

झापामा तीन चेलीको हत्यापछि झुण्ड्याइएको आशंकामा अनुसन्धान



काठमाडौं, १० साउन । झापाको केचनाकवलको चीया बगानमा झुण्डिएको अवस्थामा फेला परेका तीन चेलीबारे अनुसन्धानले नयाँ मोड लिएको छ । घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले भने पोष्टमार्टम रिपोर्टका आधारमा अगाडि बढ्ने मात्र भनेको छ ।

तीन किशोरीको शरीरमा कुनै घाउ तथा निलडाम नभेटिनुले घटनालाई रहस्यमयी बनाएको छ । उनीहरुको हत्याको आशंका गरिएको छ । सम्पर्क भएका नम्बरहरुबारे समेत अनुसन्धान भइरहेको बुझिएको छ ।

शनिबार एकसाथ घुम्न हिंडेका किशोरीहरु हराएपछि राति परिवारले खोजेका थिए । एकैपटक ८ साउनको विहान सुनकोशी चीया वगानका श्रमिकले देखेका थिए । किशोरीहरु झुण्डिएको रुखको हाङ्गा निकै अप्ठ्यारो ठाउँमा छ । तीनैजना कसरी झुण्डिए भन्ने प्रश्न उब्जिएको छ ।

चीया बगानकै कामदार थिए तीनैजना किशोरी । १७ वर्षीया अञ्जली गणेश र १६ वर्षका करिना गणेश र कल्पना गणेश तीनैजना मिल्ने साथी पनि थिए । उनीहरुले सहमतिमा आत्महत्या गरेको हुनसक्ने आधारमा पनि अनुसन्धान बढेको बुझिएको छ । तर, देउनिया खोलाको किनारमा रहेको बयरको रुखको जटिल हाँगामा झुण्डिएका भेटिएकाले आशंका गर्ने ठाउँ बनेको छ । अर्कोतर्फ, एकैपटक तीनजना आत्महत्या गर्न कसरी तयार भए भन्ने प्रश्न पनि उब्जिएको छ ।

दुई किशोरी डोरी र अर्की सलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । तीनमध्ये एक किशोरीको खुट्टाको घुँडासम्म पानीमा डुबेको थियो ।



प्रतिक्रिया दिनुहोस्