Logo

सर्जनसँग सपनाको नक्कली विवाह, अढाई करोडको बीमा अनि हत्या



काठमाडौं, १३ साउन । विवाह, बीमा अनि हत्या । यो कुनै फिल्मको कहानीभन्दा कम छैन । केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले एक युवकलाई बीमावापत् मोटो रकम प्राप्त गर्न शिकार बनाइएको रहस्य खोलेको छ ।

बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिक विपन्न परिवारका थिए । उनलाई डिपेन्डेन्ड भीसामा अष्ट्रेलिया लैजाने भनी संगठित गिरोहले नक्कली विवाह गराइदियो । कागजी विवाहपश्चात् नक्कली पत्नी बनिन् सपना मल्ल । उनैलाई इच्छाइएको व्यक्ति राखेर राखेर रिलाएन्स इन्सुरेन्समा बीमा गराए ।

साँढे २ करोड रुपैयाँको बीमा थियो त्यो । उनको आम्दानी २ लाख रुपैयाँ प्रतिमहिना देखाइएको थियो । विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्र सर्जन र सपनाको भेट भएको थियो । यसमा संगठित समूह नै लागे । बीमा गराए ।

बीमा गरेको ३७ दिनमा मोटरसाइकल दुर्घटनामा सर्जनको मृत्यु भयो । त्यसपछि इच्छाइएको व्यक्ति सपना मल्लले प्रहरी रिपोर्ट, मृत्यु दर्ता, दुर्घटनाको प्रमाण, विवाह दर्ता प्रमाणपत्र आदि पेश गरी बीमा दाबी गरिन् । कानूनी प्रमाण र दाबीका आधारमा इन्सुरेन्सले रकम भुक्तानी गर्यो । तर, बिमा गर्नेको ३७ दिनमै मृत्यु हुनुले बिमा कम्पनी सशंकित भयो । साँढे २ करोड रुपैयाँ भुक्तानी गर्नुपरेको अवस्था थिया ।

सपना पतिको मृत्युले वियोगमा रहेको जस्तो देखिन्नथिइन् । बीमा कम्पनीले आशंका गर्यो । अर्कोतर्फ, मोटरसाइकल दुर्घटनामा मृत्यु भएका सर्जनको लाइसेन्स नै थिएन ।

सर्जनलाई २ वैशाख २०७८ मा कोहलपुरमा मिनिबसले ठक्कर दिएको थियो । मिनीबस टोपबहादुर राना क्षेत्रीले चलाएका थिए । सवारी ज्यान मुद्दामा क्षेत्री २ महिना कैद सजायपछि छुटे । तर, बिमा कम्पनीको चासोका कारण सपना मल्ल निगरानीमा परिन् । मिनीबस चालक पनि निगरानीमा परे ।

सीआइबीले घटनाको रहस्य खोतलिरहेको थियो । सपना मल्लको निकटताबारे अनुसन्धान थाल्यो । सञ्जीव अर्यालसँग उनको कुराकानी भएको पत्ता लाग्यो । अर्यालको चालक टोपबहादुर रानासँग कुराकानी भएको खुल्यो । त्यसपछि संगठित गिरोहबारे धेरै तथ्य उजागर भयो ।

संगठित समूहले बीमा रकम पाउन युवकलाई नक्कली विवाह गराई हत्या सम्मको घटना घटाएको रहस्य खुल्यो । यसमा मुख्य योजनाकार थिए सञ्जीव अर्याल । उनैले सपना मल्लको नक्कली विवाह सर्जन विकसँग गराएका थिए । मिनीबस चालक टोपबहादुर रानालाई तयार गरी मोटरसाइकल दुर्घटना गराई हत्या गराएका थिए । घटनामा सरदार अहमद खाँ, दिपक केसी र ललिता सापकोटा पनि मतियार रहेको प्रहरीको आरोप छ । उनीहरुको संगठित योजनाको रहस्य सीआइबीले खोल्न सक्यो ।

रकम बाँडफाँड
सञ्जीव अर्यालले योजनावद्ध तरिकाले विवाह गराउने देखि बीमा गराउने सम्मको गतिविधि गरेका थिए । हत्यापछि बीमावापत् आएको रकम आरोपीहरुले बाँडफाँड गरेको सीआइबीले जनाएको छ ।

सबैभन्दा बढी रकम मुख्य योजनाकार सञ्जीव अर्यालले ८० लाख २६ हजार, दीपक केसीले ६० लाख, सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ लिएको खुलेको छ ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्