Logo

नागरिकता बिधेयकको विरोधमा उत्रियो देशभक्त नागरिक समूह, बिधेयक प्रमाणित नगर्न राष्ट्रपतिको ध्यानाकर्षण



काठमाडौं, १६ साउन । हालै संघीय संसद्बाट पारित भई प्रमाणिकरणको लागि राष्ट्रपति कार्यलयमा पुगेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ को देशभक्त नागरिक समूहले परिमार्जनको माग गरेको छ । विद्येयकमा भएका कतिपय प्रावधान देशको हितविपरित रहेको उक्त समूहको दाबी छ ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिकता बिधेयकलाई परिमार्जनको लागि पुनर्विचार गरियोस् भनेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको पनि उक्त समूहले जानकारी दिएको छ ।

नेकपा (माओवादी केन्द्र) का पुर्व पोलिटब्युरो सदस्य नारायण शर्माले अहिले आएको नागरिकता विधेयकलाई चरम राष्ट्रघातीको संज्ञा दिए । सरकारले विधेयक ल्याएर राष्ट्रको नामनिशाना नै नष्ट गर्न खोजेको उनको टिप्पणी छ । यसको सबैले विरोध गर्दै जानुपर्ने उनको भनाई थियो ।
उनले नेपाललाई विदेशीको अखडा बनाउन खोजेको भन्दै देशमा धेरैपटक राष्ट्रघाती कदमहरु भएको भन्दै महाकाली सन्धि, संसद्बाट एमसीसी अनुमोदन भएकाजस्ता घट्नाको स्मरण गराए ।

उनले भने,‘अन्य देशका नेताहरु आफ्ना राष्ट्र बनाउनका निम्ति लागिपर्छन् तर नेपालमा दलहरु भने देशलाई विदेशीको अखडा बनाउन खोज्दैछन्, विदेशीको दलाल बन्न खोजेका छन् ।’

यस्तै, अधिवक्ता स्वागत नेपालले खुला सीमा रहेसम्म र विशाल नेपाल कायम नभएसम्म नागरिकताको सवाल यसैगरि उठिरहने टिप्पणी गरेका छन् । नागरिकतासम्बन्धी विद्यमान समस्या कायमै रहे देशको विकास र समृद्धिको बारेमा सोच्न नसकिने उनको भनाई थियो । अन्तर्राष्ट्रिय अदालतसम्म अन्तर्राष्ट्रिय कानुनबमोजिम विशाल नेपालको मुद्दा लान र प्राप्त गर्न सकिन्छ भन्ने आधार र प्रमाणसहित सर्वोच्च अदालतबाट वकिलहरुको समुहले कारणदेखाउ आदेश जारी गराएको पनि उनले स्मरण गराए । उनले भने,‘जबसम्म खुला सीमा रहिरहन्छ, तबसम्म यो भइरहन्छ । नेपालमा जबसम्म सबै मुलुकका लागि भिसा प्रणाली लागु हुादैन तबसम्म यो समस्या भइरहन्छ ।’

उनले आफ्नो देशलाई माया नगर्नेसँग विवाह पनि नगर्न सुझाव दिए । उनले भने,‘ जसले देशलाई माया गर्दैन्, त्यसले कसैलाई पनि माया गर्दैन् ।’ नेपालमा आउने बुहारी वा ज्वाँई जसले पनि नेपालको कानुन मान्नुपर्नेमा उनले जोड दिए । नागरिकता विधेयक संसदबाट अझैपनि पास नभएको बताउँदै उनले जनताले सरकारको यो निर्णय स्वीकार नगर्ने बताए ।

अभियन्ता दिनेश खनालले नागरिकता विधेयक पुनःविचार गरियोस भन्दै राष्ट्रियसभा सचिवालय र राष्ट्रपति कार्यालयलाई ध्यानाकर्षण गराएको जानकारी दिए । नेपाल भारत र चीनजस्ता ठूला मुलुकको बीचमा रहेको उल्लेख गर्दै उनले नागरिकता विदेशीलाई बाँड्नु भनेको देशलाई भुटानीकरण र सिक्किमीकरण गर्न खोजिएकोसरह हुने टिप्पणी गरे । उनले भने,‘सानो ठुलो देश जत्रो भएपनि सबैलाई आफ्नो देशको अखण्डता उत्तिकै प्यारो हुन्छ ।’

खनालले कुनै देशमा पनि यति सजिलै नागरिकता नपाइने भन्दै नागरिकता दिन कडा प्रावधान राखिनुपर्ने बताए । राष्ट्रियताको सवालमा चीनजस्तो अडिग रहने अन्य देश नभएको पनि उनले स्मरण गराए । उनले भने,‘चीनले यति सजिलै कोही पनि विदेशीलाई नागरिकता दिँदैन्, चीनबाट हामीले सिक्नुपर्छ ।’ बिहेवारी गरेर गएपनि चीनले बसोबासको अनुमति दिने तर नागरिकता भने नदिने गरेको उनको भनाई छ । विवाह गर्नेबित्तिकै नागरिकता दिने नेपाल सरकारको कुरामा उनले आपक्ति जनाए । उनले नागरिकता जथाभावी बाँड्दा देशको अखण्डता, राष्ट्रियता र स्वाधिनता नै खतरामा रहेको उल्लेख गर्दै यति सजिलै नागरिकता दिन नुहनेमा जोड दिए ।

जनएकता परिषद्का संयोजक विजय थापाले २०६३/६४ मा ३ जना साँक्षीको भरमा नागरिकता दिने नागरिकता टोली व्यवस्था गरिएको र त्यहीँबाट समस्या सुरु भएको आरोप लगाए ।
उनले तराईबाट भारतका धेरै नागरिकहरुले नागरिकता लिएको बताए । उनले भने,‘त्यो व्यवस्थाबाट तराईमा हत्या, हिंसा मौलाउने काम भयो ।’ उनले २०६२/०६३को आन्दोलनपछि पहाडी समुदायका मानिसलाई तराईका रैथानेले लखेट्ने काम गरेको सुनाए । उनले भने,‘उनीहरुले पहाडका मानिसहरु देखे भने घरमा बम हानिदिने, टोपी च्यातेर फालिदिने कार्य गरे ।’ सोही समयबाट तराईमा विभिन्न समुह खडा भएर पहाडे समुदायलाई भगाउने काम गरिएको पनि उनको गुनासो थियो ।

उनले भने,‘पहाडे चेलिबेटीको इज्जतमाथि धावा बोल्ने काम भए, पहाडेका सम्पत्ति लुटिए । अब ठीक सोही अवस्था आउँदैछ, प्रदेश सरकार बनाउनेसम्म भारतीय नागरिकहरु नेपाली नागरिकता लिएर छिरेको अवस्था छ ।’

कार्यक्रमको समापन प्रा.डा.राजकुमार पोखरेलले गरेका थिए ।

हाम्रो पार्टी नेपालको संयोजक तथा कार्यक्रम सञ्चालक गोबिन्द बोहोराले नागरिकता विधेयकलाई पुर्नविचार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको बताए । उनले भने,‘उहाँमा राजनीतिक संघर्षबाट राष्ट्रपति भएको कारणले आशा देखिएको हो । पहिलो त उहाँ यो देशको छोरी हो ।’ राष्ट्रिय सभा अध्यक्षलाई पनि नागरिकता विधेयकको पुर्नविचार गरियोस् भनेर ज्ञापनपत्र बुझाएको उनले जानकारी दिए । उनले साच्चिकै राष्ट्रलाई माया गर्ने देशभक्तहरु अब चुप लागेर बस्न नहुने बताए । प्रेश विज्ञप्ती बृद्धिजिवी भूमिनन्द देवकोटाले वाचन गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्