Logo

पत्नी र छोराछोरीको हत्या गर्ने दिनेशको ‘सुसाइड नोट’मा के छ



काठमाडौं, १६ साउन । पत्नी र छोराछोरीको हत्या गरी आत्महत्या गरेका भनिएका दिनेश पाण्डेमा पत्नीप्रति अविश्वास र आशंका रहेको खुलेको छ । उनले पत्नी सुनिता पाण्डेमाथि शंका गर्दा सुन्दर परिवाररुपी लंका नै जलेर नष्ट भएको छ ।

दिनेशको सुसाइड नोट १० पेज लामो भएको प्रहरी स्रोतले बताएको छ जसमा उनले सुनिता र माइती परिवारमाथि दोष देखाएका छन् । सुनिता अरु पुरुषसँग लागेको आरोप समेत लगाएका छन् । अर्को पुरुषसँग लागेकाले मोबाइल हेर्न नदिएको आरोप सुसाइड नोटमा छ । श्रीमतीले आफूलाई बेवास्ता गर्ने गरेको उनको आरोप उल्लेख छ । आफूले कुवेतमा ११ वर्ष दुःख गरेर कमाएको सम्पत्ति सुनिताले कब्जा गर्न खोजेको आरोप पनि सुसाइड नोटमा छ ।

किन भइरहेछ जघन्य अपराध (भिडियो विश्लेषण)

आफूलाई सुनिताले योजनावद्ध तरिकाले फसाएर सम्पत्ति हडप्न खोजेको दिनेशको आरोप सुसाइड नोटमा छ । प्रहरीमा पटक पटक लगेर थुनाउँदा वाध्य भएर हत्याको अवस्थामा पुगेको उनको दाबी छ । श्रीमतीको हत्या गरेर आत्महत्या गर्ने निर्णयमा पुगेपछि छोराछोरी टुहुरा हुने भएकाले उनीहरुको पनि हत्या गरेको उल्लेख गरेका छन् ।

छोराछोरीको असाध्यै माया लाग्ने गरेको सुसाइड नोटमा उल्लेख गरेका छन् । उनीहरुलाई एक्लै छाड्न नसक्ने भन्दै साथै लाने कठोर कदम चाल्न वाध्य भएको लेखेका छन् ।

तारकेश्वर नगरपालिकाको पदमछलमा भेटिएको शवको पोष्टमार्टम पछि थप तथ्य पत्ता लाग्ने प्रहरीले जनाएको छ । घटनामा मृतकहरुमा ४१ वर्षीय दिनेश पाण्डे र ३९ वर्षीया सुनिता पाण्डे दम्पत्ति हुन् । १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे उनीहरुका छोराछोरी हुन् । आशिका सैनिक विद्यालयमा अध्ययन गर्थिन् । उनी विद्यालय नआएपछि सैनिकहरुले चासो राखेका थिए । त्यसपछि छिमेकले घरको ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराउँदा घटना भएको खुलेको थियो ।

पाण्डे दम्पत्तिबीच लामो समययता मनमुटाव थियो । उनीहरु न त अलग हुन सकेका थिए न त सँगै बस्न रुचाएका थिए । सुनिता बेलायत जाने भीसा लिएर तयारी अवस्थामा थिइन् । उनी यसै हप्ता बेलायत जाने टुंगो लागेको थियो । दिनेश सुनितालाई रोक्न चाहन्थे । उनी या त डिभोर्स चाहन्थे या त बेलायत जानबाट रोक्न । चाहना पूरा नभएपछि जघन्य अपराधको निर्णयमा पुगे । सुन्दर र सानो परिवार जलेर खरानी भयो ।

११ वर्ष कुबेतको कमाईले तारकेश्वरमा जमिन र घर जोडेका थिए दिनेशले । गोरखाबाट परिवारलाई काठमाडौं सम्म ल्याए । तर, शंका, विवाद र टकरावले जन्माएको क्रोधको अग्नीले परिवार नै नामेट पार्यो ।



प्रतिक्रिया दिनुहोस्