Logo

प्रहरी महानिरीक्षक सिंहद्धारा विशेष सुरक्षा प्रहरी गणको नवनिर्मित भवनको उद्‍घाटन



काठमाडौं, १८ साउन । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, मेश र क्वाटर गार्ड भवनको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । साथै उनले नवनिर्मित भवनहरूको निरीक्षण समेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै आधुनिक, सुन्दर र सुविधा सम्पन्न भवनहरूले उक्त गणमा कार्यरत प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला दिएको विश्वास व्यक्त गरे। नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनहरू प्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्धन गर्दै दिर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह समेत गरे।

अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले अविरल वर्षा, डुबान, बाढी, पहिरो लगायत विपद्का जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरेर आवश्यक स्रोत साधन सहित पूर्व तयारी गरी तत्काल परिचालित हुन सक्ने अवस्थामा रहन सोही गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

मानव अधिकारको उच्च सम्मानका साथ बल प्रयोगको सिद्धान्तलाई पूर्ण पालना गरी भीड नियन्त्रण तथा व्यवस्थापनमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण अझ व्यावसायिक बन्दै जाने विश्वास व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले भने, ‘कतिपय अवस्थामा संयमता र धैर्यता गुमाएर गरिएको निर्णयले ठूलो मानवीय क्षति हुन गई प्रहरी आलोचित बन्नु परेको दृष्टान्तहरू हामी माझ प्रशस्तै छन् । त्यसकारण परिस्थिती अनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्णयबाट गरिने कानूनसम्मत प्रहरी कारवाही तर्कसंगत हुने हुँदा हामी सबैले यी विषयहरूतर्फ ध्यान दिन जरूरी छ ।’

प्रहरी महानिरीक्षक सिंहले व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भएर निर्वाह गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने देखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा प्रहरी संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध रहेको तथा भौतिक पूर्वाधार र संरचनाहरू निर्माण गरी प्रहरी सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयलाई समेत प्रहरी प्रधान कार्यालयले प्राथमिकतामा राखेको उनले बताए।

उक्त अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्दै नवनिर्मित भवनहरूले गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई थप हौसला प्राप्त हुनुको साथै कार्यसम्पादनमा अझ बढी उत्कृष्टता आउने विश्वास व्यक्त गरे ।

 



प्रतिक्रिया दिनुहोस्