Logo

निर्मला पन्त हत्याको आरोपमा विगतमा पक्राउ परेका दिलिपसिंह बिष्ट यसकारण प्रहरी नियन्त्रणमा



काठमाडौं, २३ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको ४ वर्ष पूरा भइसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । पन्तको हत्यापछि देशमा ३ जना आइजीपी फेरिइसकेका छन् । हरेकपटक नयाँ आइजीपीलाई निर्मला पन्तको हत्याका दोषीबारे प्रश्न उठ्दा आफ्नो कार्यकालमा सफल बनाउने पहलको कुरा गर्दै आएका छन् । तर, सकेका छैनन् ।

पन्तको हत्याको आशंकामा दर्जनौं व्यक्तिहरुमाथि अनुसन्धान भइसकेको छ । तर, दोषीको पहिचान भएको भनिएपनि प्रमाण नपुगेर पक्राउ नगरिएको बताइन्छ ।

तत्कालीन आइजीपी सर्वेन्द्र खनालका पालामा यो घटना भएको र दोषी पत्ता लगाउन निकै पहल भयो । तर, पक्राऊ परेकालाई समेत छाडियो । त्यसमध्ये थिए दिलिपसिंह बिष्ट ।

बिष्टलाई शुरुमा दोषी भनी पक्राऊ गरियो । उनको बयान पनि त्यसै अनुसार आइसकेको बताइएको थियो । तर, पछि बिष्ट छाडिए । हत्यारा अरु कोही भएको हुनसक्ने भन्दै सञ्चारमाध्यमले विषय उठाए ।

पछिल्लोपटक बिष्ट फेरि पक्राउ परेका छन् । उनीमाथि किशोरीहरुलाई दुव्र्यवहारका आरोप छ । उनी भिमदत्त नगरपालिकाको विभिन्न सडकमा हिंड्ने महिलालाई हैरानी गरेको उजूरीका आधारमा पक्राउ परेका हुन् ।

दिलिप किशोरीहरुलाई विगतमा पनि दुव्र्यवहारमा संलग्न रहेको आरोप थियो । उनको यही व्यवहारका कारण शंकाको सुई उतिबेला घुमेको थियो ।

१० साउन २०७५ मा निर्मला पन्तको हत्या भएको थियो । उनी साइकल चढेर साथीको घरमा गएकोमा फर्किइनन् । पछि खोजी गर्दा उखुबारीमा विभत्स तरिकाले हत्या गरेको फेला परेको थियो । हत्याको आरोपमा दिलिप सिंह बिष्ट पनि पक्राउ परेका थिए । तर, डिएनए नमिलेपछि उनी रिहा भए ।

पछिल्लो समय बिष्टको दुव्र्यवहारका कारण उनीमाथि फेरि शंकाको सुई घुमेको छ । त्यतिबेला डिएनए नमिल्नुमा अनुसन्धान अधिकृतहरुको लापरबाहीलाई पनि जिम्मेवारी ठहराइएको थियो । जसका कारण धेरैजसो अनुसन्धान अधिकृत कारबाहीमा परेका थिए ।



प्रतिक्रिया दिनुहोस्