Logo

रामचन्द्रलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्न कांग्रेस नेताहरुको देउवालाई दबाब



काठमाडौं, २४ साउन । आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुँदैछ । दलहरु निर्वाचनको तयारीमा होमिएका छन् । यतिवेला कुन नेताले कहाँबाट चुनाव लड्ने भन्नेपनि अर्को चर्चाको विषय बनिरहेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनले सिटको बाँडफाँड यही साउन मसान्तभित्र टुँगो लगाउनेगरि गृहकार्य थालेको छ ।

गठबन्धनले त सिटको बाँडफाँडको लागि कार्यदल नै गठन गरेको छ। उक्त कार्यदलको संयोजकमा कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला छन् । सिटको बाँडफाँड टुँगो नलगाउँदै कांग्रेसमा भावी प्रधानमन्त्रीको विषय पनि प्रवेश गरेको छ । सुरुमा महामन्त्री गगनकुमार थापाले यसपटक आफू प्रधानमन्त्रीको भावी उम्मेद्धवारको रुपमा जनताको बीचमा जाने भनेर घोषणा गरेका थिए ।

थापाको घोषणालाई कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माबाहेक अरु शीर्ष नेताहरुले रुचाएका छैनन् । शर्माले भने थापाको भावी प्रधानमन्त्रीको घोषणालाई स्वागत गरेका छन् । र, आफ्नो पनि समर्थन र सहयाग रहने सार्वजनकि रुपमै प्रतिबद्धता जनाएका छन् । तर, शीर्ष नेताहरुले भने यसबारेमा अहिलेसम्म मुख खोलेका छैनन् ।

उता, वरिष्ठ नेता रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीको रुपमा पार्टीले अघि सार्नुपर्ने आवाज उठ्न थालेको छ । पौडेलले पार्टीमा लामो त्याग र योगदान गरेको भन्दै अब उनलाई निर्वाचनपछिको प्रधानमन्त्री बनाउनुपर्ने आवाज उठेको हो । पछिल्लो समय नेता पौडेल र सभापति देउवाबीच पनि सुमधुर सम्बन्ध छ ।

चुनावपछिको पावर सेयरङिबारे दुई नेताबीच भद्र सहमति भएको अड्कलबाजी पनि सुरु भएको छ । तर, अहिलेसम्म यो विषयमा दुवै नेताले मुख खोलेका छैनन् । कतिपयले भने चुनावपछिको राष्ट्रपतिको रुपमा पौडेलले अहिलेदेखि नै चित्रण गर्न थालेका छन् । कांग्रेस नेता मधु आचार्यले अहिले पार्टीभित्र पौडेललाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्नुपर्ने आवाज उठेको जानकारी दिए ।

पौडेललाई गठबन्धनका शीर्ष नेताहरुले पनि एकपटक प्रधानमन्त्री बनाउनेबारे वचन दिएको चर्चा चल्न थालेको छ। खासगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि पौडेलप्रति प्रधानमन्त्री बनाउने विषयमा सकारात्मक सोचेको स्रोतको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्