Logo

निर्मला पन्तको हत्यारा पत्ता लाग्नसक्ने



काठमाडौं, २४ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको ४ वर्षपछि अनुसन्धानले फेरि गति लिएको छ । प्रहरीले प्रमाणसहित हत्याराबारे खुलासा गर्ने तयारी गरिरहेको बुझिएको छ ।

हत्या घटनालाई मिडिया र प्रहरीका केही जिम्मेवारी अधिकारीले समेत गिजोल्ने गतिविधि गरेको निष्कर्षका साथ अनुसन्धान बढाइएको विश्वस्त स्रोतले बताएको छ । शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएर प्रमाण खोज्ने प्रयास चलिरहेको बुझिएको छ ।

सर्वेन्द्र खनाल आइजीपी हुँदा निर्मला पन्तको हत्या भएको थियो । अनुसन्धानका क्रममा दिलिप बिष्ट नामका एक व्यक्तिलाई दोषी देखाइएको थियो । तर, डिएनए नमिलेपछि उनी रिहा भएका थिए । तर, उनको पछिल्लो गतिविधिले फेरि आशंकाहरु जन्माएको छ ।

बिष्टले किशोरीहरुमाथि दुव्यर्वहार गरेको विषय बाहिर आएको छ । उनी मानसिक रोगी भएको बताइन्छ । तर, उनको शैली भने किशोरीप्रति नराम्रो व्यवहार गर्ने खालको रहेको खुलेको छ । विगतमा जुन ठाउँमा निर्मला पन्तको हत्या भयो सोही ठाउँ नजिक उनले एकजना किशोरीमाथि दुव्यर्वहार गर्न खोजेका थिए । यो घटनाले पन्त हत्यामा दिलिप बिष्टमाथि फेरि सुई घुमेको बुझिएको छ ।

आशंकाकै भरमा प्रहरीले पक्राउ गर्ने भन्दा सप्रमाण पक्राउ गर्ने गरी सक्रियता बढाइरहेको छ । यसपटक भने दोषी पत्ता लाग्न सक्ने उच्च प्रहरी अधिकारीहरुबीच चर्चा चल्न थालिसकेको छ ।

१० साउन २०७५ मा निर्मला पन्तको हत्या भएको थियो । उनी साइकल चढेर साथीको घरमा गएकोमा फर्किइनन् । पछि खोजी गर्दा उखुबारीमा विभत्स तरिकाले हत्या गरेको फेला परेको थियो । हत्याको आरोपमा दिलिप सिंह बिष्ट पनि पक्राउ परेका थिए । तर, डिएनए नमिलेपछि उनी रिहा भए ।



प्रतिक्रिया दिनुहोस्