Logo

नागरिकता विधेयक ‘फास्ट ट्र्याक’मा अघि बढ्ने



काठमाडौं, भदौ १ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयक फास्ट ट्र्याकमा अघि बढ्ने भएको छ । राष्ट्रपतिबाट विधेयक फिर्तासम्बन्धी जानकारी प्रतिनिधि सभामा मङ्गलबार पेस भइसकेको छ ।

सत्ता गठबन्धनले समेत फिर्ता पठाइएको विधेयकको प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिसकेको छ । दलहरूसँगको परामर्शका आधारमा संसद् सचिवालयले भदौ २ गतेको बैठकमा विधेयक अघि बढाउने तयारी गरेको छ । सम्भवतः भदौ २ गतेको बैठकमा विधेयकको प्रक्रिया अघि बढ्नेछ ।

सत्तारूढ दल नेपाली कांग्रेसका संसदीय दलका सचेतक मीन विश्वकर्माले विधेयक चाँडो टुङ्ग्याउने दलहरूकै निर्णयअनुसार अघि बढ्ने बताए । उनले भने, “चाँडो टुङ्गोमा पु९याउनुपर्ने अवस्था छ । दलहरूको निर्णय पनि त्यही छ । आउँदो बैठकबाट अघि बढ्न सक्छ ।”

तर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने विधेयक फिर्तापछि कसरी अघि बढाउने भन्नेमा औपचारिक रूपमा आफूहरूसँग कुनै परामर्श नभएको जनाएको छ । संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, “हामीसँग यसबारे औपचारिक परामर्श भएको छैन ।”

यसअघि पनि नागरिकता विधेयकको प्रक्रिया फास्ट ट्र्याकमा नै अघि बढेको थियो । विधेयक दफावार छलफल समितिमा नपठाई सदनमै भएको थियो । पारितका अन्य प्रक्रिया भने यथावत् राखिएको थियो । राष्ट्रिय सभामा पनि विधेयक समितिमा नपठाई छलफल गरेर पारित गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्