Logo

चुनावी अंकगणितः ईश्वर पोखरेलको काठमाडौं-५ मा अग्निपरीक्षा



काठमाडौं, ५ भाद्र । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २०७४ मा काठमाडौं क्षेत्र नं ५ बाट चुनाव जितेका हुन् । उनलाई यो जीतले एमालेभित्रको राजनीतिमा पनि अगाडि बढ्ने मार्ग प्रशस्त गरेको छ ।

एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछि शक्तिशाली पोखरेललाई नेतृत्वको भावी उत्तराधिकारीका रुपमा लिइन्छ । तर, पोखरेलका लागि चुनावी क्षेत्र भने कठिन बन्दै आएको छ ।

२०७४ को चुनावमा पोखरेलले काँग्रेसका डा. प्रकाशशरण महतलाई झण्डै १० हजार मतान्तरले पराजित गरेका थिए । त्यतिबेला एमाले एक थियो भने माओवादीको पनि साथ थियो । अहिले परिस्थिति बदलिएको छ । एमाले फुटको असर काठमाडौं ५ मा पनि परेको छ । जुन स्थानीय निकायको चुनावमा देखियो ।

काठमाडौं क्षेत्र नं ५ मा काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५ पर्दछन् । चारवटै वडामा एमालेले वडाध्यक्ष जितेको छ । टोखा नगरपालिका पनि यही क्षेत्रमा पर्छ जहाँ मेयरमा एमाले उम्मेदवार झीनो मतान्तरले जिते ।

बुढानिलकण्ठ नगरपालिकाको २, ३, ४, ५, ६ र ७ पनि काठमाडौं ५ मा पर्दछ । जसमध्ये एमालेले ४ र काँग्रेसले २ वटा वडाध्यक्ष जितेको थियो ।
स्थानीय तहको निर्वाचत तथ्यांकलाई आधार मान्दा एमालेको कुल मत २४ हजार ९३५ छ । राप्रपाको ३ हजार ५६७ छ । काँग्रेसको २० हजार ८३२, नेकपा एसको १ हजार ८७४, माओवादीको १ हजार ६७५ मत छ ।

एमाले एक्लैको मत काँग्रेसहित गठबन्धन दलको मिलाउँदा पनि केही सयले बढी हुन्छ । एमाले राप्रपासँग मिलेमा ४ हजार मतान्तर हुने देखिन्छ । स्थानीय चुनावको मत र प्रतिनिधि सभाको चुनावमा हुने मतमा केही फरक परिस्थिति हुनसक्छ । यसकारण पोखरेललाई यसपटकको चुनाव चुनौतीपूर्ण छ ।

एमाले फुट्नु, काँग्रेससहितको गठबन्धनले लोकप्रीय उम्मेदवार उठाउने तयारी गर्नुले पोखरेललाई चुनौती हुनसक्छ । उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरुको चहलपहल पनि बढेको छ ।

निर्वाचन क्षेत्र मानेर पोखरेल लामो समय काठमाडौं ५ बाट चुनावमा उम्मेदवार बन्नु, एमालेको बलियो संगठन हुनु चाहिं सकारात्मक पक्ष हो । तर, गठबन्धनको एकताको चुनावी प्रहारलाई माथ खुवाउन पोखरेका लागि अग्निपरीक्षा नै हुने देखिन्छ । उनी यो चुनाव जितेमा भविष्यमा एमालेको नेतृत्वमा पुग्ने अझ बलियो सम्भावना पनि हुन्छ । त्यो उनका लागि चुनौती र अवसर दुवै बनेको छ ।



प्रतिक्रिया दिनुहोस्