Logo

ललितपुर-३ मा पम्फाको अग्निपरीक्षा



काठमाडौं, ८ भाद्र । अर्घाखाँचीमा जन्मिएकी पम्फा भुसालले ललितपुरका रैथाने उम्मेदवारलाई चुनाव हराएर दुईपटक प्रतिनिधि सभाको सांसद भइसकेकी छिन् । माओवादी जनयुद्धमा होमिएकी पम्फा माओवादीभित्रकी सबैभन्दा सशक्त महिला नेता मानिन्छिन् । दुईपटक मन्त्री भइसकेकी छिन् ।

ऊर्जामन्त्री भुसाल यसपटक पनि ललितपुर ३ बाट नै चुनाव लड्ने चर्चा छ । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादीले ललितपुर ३ छाड्ने सम्भावना न्यून छ । यो क्षेत्रमात्र उसका लागि सुरक्षित मानिएकाले पनि छाड्ने सम्भावना न्यून छ । तर, नेपाली काँग्रेसको पनि दाबी गरेको छ ।

भुसाल गठबन्धनको साझा उम्मेदवार बनेमा ललितपुर ३ मा उम्मेदवारी दाबी गरिरहेका पूर्वसांसद मदनबहादुर अमात्य र तरुण दलका पूर्वअध्यक्ष जीतजंग बस्नेतको व्यवस्था काँग्रेस सभापति शेरबहादुर देउवालाई कठिन हुन्छ । दुवै देउवानिकट हुन् ।

ललितपुर कम्युनिस्टहरुको पकड क्षेत्रमा रुपमा लामो समय रह्यो । २०७० को चुनावमा तीनवटै क्षेत्र काँग्रेसले जित्यो । त्यसअघि कम्युनिस्टहरुले ४ पटक चुनाव जिते र २०७४ को चुनावमा पनि तीनवटै क्षेत्र कम्युनिस्टहरुको हातमा गयो । एमाले र माओवादी मिलेर चुनाव लड्दा ललितपुर २०७४ मा लालकिल्ला बन्न सक्यो ।

विगत पाँच वर्षमा नख्खु, गोदावरी र कोड्कु जस्ता ललितपुरका खोलामा धेरै पानी बगिसके । स्थानीय चुनावमा ललितपुरमा काँग्रेस बलियो देखियो । एमालेले महालक्ष्मी नगरपालिका र कोञ्ज्योसम गाउँपालिका मात्र जित्यो । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महाकाल र बागमती गाउँपालिका काँग्रेसले जित्यो ।

ललितपुर क्षेत्र नं ३ मा पर्ने महानगरपालिकाका १ देखि ५, १०, १३, १४, १४, १८, २०, २९ र गोदावरी नगरपालिकाको १२ र १४ वडाको वडाध्यक्षको मतलाई आधार मान्दा नेपाली काँग्रेसको सबैभन्दा बढी १३ हजार १५० मत देखिन्छ । एमालेको १० हजार ६३१, नेकपा एसको ४ हजार ८८३, माओवादीको ३ हजार ५८६ र राप्रपाको २ हजार ४५७ मत रहेको छ ।

स्थानीय निकायको मतलाई आधार मान्दा गठबन्धनको साझा उम्मेदवार खडा भएमा एमाले उम्मेदवारलाई चुनौती बढ्न सक्छ । तर, एमाले राप्रपाका अलावा केशरबहादुर बिष्टको दलसँग तालमेल गरेर अगाडि बढेमा कडा प्रतिष्पर्धा हुनसक्छ । एमालेको राप्रपासँग गठबन्धन भएमा ललितपुर १ र ३ मध्ये एकमा राप्रपाको पनि दाबी देखिएको छ । यसकारण यो पटक ललितपुर ३ मा प्रतिष्पर्धा रोचक हुनसक्छ ।

स्वतन्त्र उम्मेदवारहरु पनि धमाधम देखिएका छन् । काँग्रेसबाट भरतलाल न्याच्छ्योले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । यसले काँग्रेसको मतमा असर पर्न सक्छ । घटनाक्रम यसरी विकास हुँदैछ कि ललितपुर ३ को चुनावी प्रतिष्पर्धा रोचक मोडमा पुग्दैछ । दुई पक्षीय नभइृ बहुपक्षीय प्रतिष्पर्धाको सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot