Logo

ओली निवास रहेको भक्तपुर-२ मा महेश बस्नेतको चुनावी अग्निपरीक्षा



काठमाडौं, ८ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बस्दै आएको बालकोट भक्तपुर क्षेत्र नं २ मा पर्दछ । ओली बस्दै आएको क्षेत्रमा नेकपा एमालेले २०७४ को चुनाव मात्र जितेको छ । बहुदल आएपछि त्यसअघि भएका चुनावमा काँग्रेस र नेमकिपाले जितेको इतिहास छ ।

२०७४ मा एमालेका महेश बस्नेतले ३६ हजार ४१२ मत ल्याएर काँग्रेसको उम्मेदवार बनेका पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गरेका थिए । ढुंगानाको १८ हजार ६८७ र नेमकिपाकी अनुराधा थापामगरको ५ हजार ४७१ मत थियो । त्यतिबेला एमाले र माओवादी तालमेल गरेर चुनाव लडेका थिए ।

स्थानीय चुनाव २०७९ मा भक्तपुर २ मा पर्ने मध्यपुर थिमी नगरपालिकामा काँग्रेसले मेयर जित्यो । सूर्यविनायक नगरपालिकामा एमालेले मेयर जित्यो । दुवै नगरपालिकाको मेयरको मत जोड्दा काँग्रेसको २८ हजार ३३० र एमालेको २५ हजार ७९३ मत हुनआउँछ । नेमकिपाको ३ हजार ७८९, राप्रपाको २ हजार ८७९ र माओवादीको ९३९ मत देखिन्छ ।

विगतको चुनाव र स्थानीय चुनावको परिणामलाई आधार मान्दा महेश बस्नेतका लागि सजिलो छैन । गठबन्धन मिलेमा झन कठिन हुन्छ । एमाले राप्रपासँग चुनावी तालमेलमा गएमा कडा प्रतिष्पर्धा हुने देखिन्छ ।

पूर्वमन्त्री बस्नेतको प्रतिष्पर्धी काँग्रेसबाट दुर्लभ थापा हुने चर्चा छ । दुवै भक्तपुरका रैथाने बासिन्दा हुन् । महेश बस्नेत ओलीका प्रीयपात्र हुन् । दुर्लभ थापा काँग्रेस सभापति शेरबहादुर देउवाका प्रीय मानिन्छन् । यसपटक ओलीको निवास रहेको क्षेत्रमा एमालेले कस्तो परिणाम ल्याउला चासो बनेको छ ।

ओली प्रधानमन्त्री हुँदा भक्तपुरमा धेरै विकास कार्यक्रम लग्न सफल भएको भन्दै बस्नेत ढुक्क छन् । दुर्लभ पनि आफू थलोमै बसेर काम गरेकोले मत पाउनेमा ढुक्क छन् । त्यसबाहेक नेमकिपा, राप्रपा र स्वतन्त्र उम्मदेवारहरुको चुनौती पनि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot