Logo

गठबन्धन कार्यदल बैठकः प्रतिवेदन टुंगियो, सिट टुंगिएन



काठमाडौं । सत्तारूढ पाँच दलले सिट संख्याबिना नै आगामी प्रतिनिधिसभा निर्वाचनमा हुने चुनावी तालमेलको प्रतिवेदन तयार गरेको दाबी गरेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनले बनाएको कार्यदलले सिट संख्या बाँडफाँट गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिँदै निर्वाचन क्षेत्रअनुसारको अवस्थासहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई जिम्मा लगाउने भएका हुन् ।

बुधबार रातिसम्म गठबन्धनका बिचमा तालमेल हुँदा कसले कति सिट पाउने भन्ने सहमति बनेको छैन । तर, आज प्रतिवेदन शीर्ष तहमा बुझाउने तयारी छ ।

कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदल बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको बताए ।

‘प्रतिवेदन आज करिब करिब टुंगिएको छ, बिहीबार बिहान फेरि बसेर प्रतिवेदनलाई अन्तिम रूप दिएपछि शीर्ष नेतृत्वलाई बुझाउँछौं,’ कार्कीले भने ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले कसले कति सिट पाउने भन्ने विषयमा शीर्ष तहले निर्णय लिने जानकारी दिए ।

गठबन्धन बैठकमा पहिले नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले २५ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्रमा दाबी गर्दै आएका थिए ।

पछिल्लो समय सबै दलले सिटसंख्याको दाबी घटाउँदै लगेको र सहमति उन्मुख बनेको बताइएको छ । अहिले कांग्रेसले ८५, लोकतान्त्रिक समाजवादीसहितका दललाई समेट्दा ९०, माओवादी केन्द्रले ४० देखि ४५, नेकपा एकीकृत समाजवादीलाई १८, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिनेगरी प्रारम्भिक खाका बनाइएको बताइन्छ ।

कांग्रेसलाई सिट बढी दिँदा बाबुराम भट्टराई, बामदेव गौतम र लोसपालाई मिलाउने जिम्मा पनि कांग्रेसलाई नै दिनुपर्ने जनमोर्चाबाहेकका अन्य तीन दलको अडान छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot