Logo

मोहनबहादुर बस्नेत भन्छन्ः “देउवा फेरि प्रधानमन्त्री हुनु के आश्चर्य भो र !”



काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी सभापति शेरबहादुर देउवाले चाहेमा फेरि प्रधानमन्त्री हुन सक्ने बताएका छन् । “देउवा धेरैपटक प्रधानमन्त्री हुनुभयो । उहाँमा मात्र सबैलाई मिलाएर लान सक्ने व्यक्तित्व देखिएको छ । त्यसैले संसद्मा कांग्रेस कमजोर भएका बेला समेत सरकारको नेतृत्व गर्नुभयो । उहाँले गठबन्धनलाई चुनावसम्म लैजान लागिरहनुभएको छ । भोलि पनि ठूलो पार्टीको नेतृत्वमै सरकार बन्छ । देउवाले इच्छा राख्नुभयो भने उहाँ फेरि प्रधानमन्त्री बन्नु सम्भव नभएको विषय होइन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले भने ।
नेता बस्नेतले पार्टी संगठनको आकार, हैसियत अनुसार नहेरी कचमच गर्न थाले गठबन्धन रहन नसक्ने चेतावनी पनि दिए । उनले भने, “सिन्धुपाल्चोक-१ मा कांग्रेसको पहिलो पोजिसन छ । तेस्रो पोजिसनको माओवादी केन्द्रले दाबी गरिरहेको छ । ५४ वडामा हामीले ३२ वटा जित्दा उसले जम्मा ५ वडामा जितेको छ । अहिले मात्र होइन, २०७४ मा पनि थर्ड पोजिसन नै थियो । एक लिटरको जगमा ५ लिटर पानी हालेर अडिन्छ ? केपी ओलीलाई साइजमा राख्ने हो भने यसरी गठबन्धन हुन सक्दैन । हार्ने गरी गठबन्धन हुन सक्दैन ।”
अर्को प्रसंगमा उनले आफूले हिमालयपार व्यापार संघ र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका तर्फबाट तातोपानीलगायतका नाका खोल्न हिजो परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेर सहजीकरणका लागि अनुरोध गरेको बताए । बस्नेतले भने, “नाका खुले पनि कन्टेनर पर्याप्त नपठाउने समस्या छ । अहिले तातोपानी नाका मसानघाटजस्तो भएको छ । लामो समयसम्म नाका नखुल्दा दुई जना व्यापारीले आत्महत्या गरे । पर्याप्त पहल र सहजीकरण नभए अझै अप्ठ्यारो स्थिति आउन सक्छ ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot