Logo

प्रधानन्यायाधीश जबरामाथिको महाभियोग असफल भयो, सत्तापक्षले नजरबन्द गरेर तमाशा देखायो : ओली



काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा यतिवेला कानूनी राज्यको उपहास भएको बताएका छन् । आज (आईतबार) आफ्नो निवासमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई घरमै नजरबन्द गरेर सत्तापक्षले तमाशा देखाएको आरोप लगाएका छन् ।

उनले भने,‘लोकतन्त्रका विधि र प्रक्रिया हुन्छन् । त्यसको मर्यादा सबैले पालना गर्नुपर्छ । अब संविधानले नै नमान्ने हो भने, कानून नै नमान्ने हो भने, कानूनको राज होईन, जंगली राज चलाउने हो भने, सत्ताको दुरुपयोग गर्ने हो भने त्यो डेमोक्रेसी हुँदैन् । को व्यक्ति के थियो भन्नेसँग हाम्रो प्रश्न होईन । नेपाल कानूनी राजको हिसाबले चल्नुपर्छ ।’
उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरमाथि लागेको महाभियोगको सन्दर्भमा सत्तपक्षले नै सफाई दिएको स्पष्ट पारे । उनले भने,‘त्यो महाभियोगको प्रस्ताव प्रतिनिधिसभाले दुई तिहाईले पारित गर्नुपर्दथ्यो । होईन भने पारित नगर्दा असफल हुन्थ्यो । तर, षड्यन्त्रपूर्ण ढंगले ०७८ फागुन १ गते दर्ता भयो, २०७९ ुसाल भदौ १ गतेसम्म सभामुखले आफ्नो घर्रामा, सत्ता पक्षको स्वार्थवश राख्नुभयो । र, उहाँले कारबाही अघि नै बढ्न दिनुभएन ।’

उनले प्रमुख प्रतिपक्षीको तर्फबाट आफूहरुले प्रधानन्यायाधीशमाथि कुनै आरोप र अभियोग लागेपछि त्यसलाई समयमै टुँगोमा पुर्याउनुपर्नेमा जोड दिएको स्मरण गराए । उनले भने,‘हामीले यस्तो प्रस्ताव संसद्मा दर्ता भएपछि, यसरी केही नभएझैं गरेर निश्क्रिय बस्नुहुँदैन् भनेको थियो । तर, सत्ता पक्षले गणितीय खेल खेल्यो । हिजो संसद्को अधिवेशन सिद्दियो । यो अधिवेशनमात्रै होईन, यसको कार्यकाल नै सिद्दियो । महाभियोग पारित नभएपछि, कुरा सिद्दियो । सत्तापक्षले उहाँलाई सफाई दियो । प्रक्रिया अघि नबढाएर सफाई दियोे । उहाँमाथि लागेको अभियोग पारित गरेन ।’

महाभियोग सिफारिश समितिले बुझाएको प्रतिवेदन अर्को संसदले टेकवोभर गर्ने कुरा छ नि भनेर सोधिएको प्रश्नमा उनले भने–‘अब आउने संसद्, त्यसले पनि गरेन भने ? तीन महिनाभित्र यो प्रस्ताव टुँगो लगाउनुपर्छ । कुनै पनि संसदीय प्रक्रियाको अवधि हुन्छ । कानूनी व्यवस्था छ ।’ उनले महाभियोग पारित नभएपछि प्रधानन्यायाधीश काममा फर्कनुपर्ने बताए । तर, सत्ता पक्षले कानूनलाई हातमा लिएर सेना र प्रहरी लगाएर जबराको घर घेर्ने र नजरबन्द गरेर तमशा देखाएको भन्दै ओलीले आक्रोश पोखे । उनले भने,‘सत्तामा पुगेर, सेना प्रहरी हातमा छ भनेर, जे पनि गरे हुन्छ ? मान्छेको घर घेर्ने, नजरबन्द गर्ने, यस्तो तमशा लोकतन्त्रमा हुँदैन्, अभियोग पुष्टि भएन भने प्रधानन्यायाधीशले के गर्ने ?’

 



प्रतिक्रिया दिनुहोस्