Logo

कञ्चनपुरका वडा–वडामा लागुऔषध सचेतना कार्यक्रम



महेन्द्रनगर, ७ असोज । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हालेका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले कञ्चनपुरमा लागुपदार्थ खैरो हिरोइनले जरा गाडेको विषय उजागर गरे ।

उनले जिल्लाभर प्रहरी सक्रिय गराएर झण्डै डेढ सयलाई कानुनी कारवाहीका दायरामा समेत ल्याए । कञ्चनपुर भारतका चार जिल्लासित सीमा जोडिएको जिल्ला पनि हो । खैरो हिरोइनले युवापुस्ता कुलतमा फसिसकेको विषय प्रहरी सक्रियतापछि बाहिर आयो ।

पछिल्लो समय समाजको ‘क्यान्सर’ नै लागुऔषध भएको जनाउँदै जिल्लामा सक्रियता बढाएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले लागुऔषध नियन्त्रणमा सक्रिय छन् । लागुऔषध नियन्त्रणका साथै कारबाही र समाजमा लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत गरिरहेका उनले अचेल यहाँका वडा तहसम्म पुगेर कक्षा लिइरहेका छन् ।

वडास्तरसम्म सचेतना कक्षा सञ्चालन गरिरहेका प्रउ चौधरीले सामुदायिक प्रहरीमार्फत पनि स्कूल र समुदायस्तरमा लागुऔषधबाट बच्न र न्यूनीकरणका लागि सक्रिय बनाएका छन् । “सामाजिक सञ्जाल दुरुपयोग, अभिभावक सन्ततिप्रति गम्भीर नदेखिहुन, पारिवारिक कलह र लागुऔषध पाउने बजार नजिक हुँदा कञ्चनपुर लागुऔषधको नराम्रो फन्दामा छ ।” उनले भने, “ लागुऔषधमा प्रहरी र नागरिक एवं सरोकारवालबीच सहकार्य हुनु आवश्यक छ ।”

उनले कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीमध्ये ४५ प्रतिशत लागुऔषध मुद्दाका अभियुक्त र दोषी रहेको जानकारी दिए । “तीन वर्षअघिसम्म यहाँ लागुऔषधका ५५ मुद्दा रहे पनि अहिले एक सय ४३ मुद्दा चलिरहेका छन् ।” उनले भने, “मुद्दाको रेकर्डले पनि यसको भयाभहको अवस्था देखाउँछ ।”

कारागारका रहेका चार सय २६ कैदीबन्दीमध्ये एक सय ५६ लागुऔषधसम्बकन्धी मुद्दाका रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी मातहतका मुद्दा चल्ने युनिटमा पनि लागुऔषध मुद्दाकै चाप बढी छ । “लागुऔषधको लत र कारोबारमा १८ देखि ३० वर्षभित्रका युवा÷युवती छन् ।” प्रउचौधरीले भने, “युवा शक्ति नै दुव्र्यसनको सिकार बन्दै सहायक अपराध पनि बढ्छन् ।”

उनले लागुऔषधकै लतमा परेको व्यक्तिले चोरी, लुटपाट, बलात्कारदेखि हत्या हिंसाजस्ता सामाजिक अपराधमा केन्द्रित हुने गरेको बताए । “भारतीय बजारमा लागुऔषध खरिद गरेर भारतीय नै नेपालको सिमानासम्म पु¥याइदिने गरेको तथ्य छ ।” उनले भने, “कतिपय बेला भारतीय लागुऔषध नेपालमै ल्याएर किनबेच गरिरहेको बेला पक्राउ परेको स्थिति पनि छ ।”

भारतका चार जिल्ला कञ्चनपुरको सिमानासम्म जोडिने भएकाले प्रहरीलाई समन्वय गर्न पनि समस्या रहेको छ । “लागुऔषधसहित अन्य पाँच÷छ वटा अपराधसमेत जोडिएका छन् ।” उनले भने, “यसको ओसारपसार र सेवन न्यूनीकरण प्रहरी सक्रियताले मात्रै सम्भव छैन ।” अभिभावले प्रहरीले मात्रै लागुऔषध नियन्त्रण गर्ने काम हो भन्दै सोचेर बसेर मात्रै नहुने प्रहरीको भनाइ छ ।

“खैरो हिरोइन यहाँ उत्पादन नभए पनि यसको माग र पैठारी रोक्ने विषयमा हामी गम्भीर भएर लागेका छौँ ।” उनले भने “सोहीअनुसार ओसारपसारमा संलग्न र सेवनकर्ता धमाधम पक्राउ परिरहेका पनि छन् ।” युवालाई लागुऔषधको लतमा पस्न नदिन व्यायम, साधना र सङ्गीततर्फ लगाउन अभिभावकले जोड दिनुपर्ने चौधरीको भनाइ छ ।

“सवारी दुर्घटना पनि लागुऔषध र मादकपदार्थ सेवनकै कारण बढी हुने गरेको देखिन्छ ।” उनले भने, “समृद्ध समाज बनाउन सडकलगायतका पूर्वाधार बनाएर मात्रै हुँदैन, युवा शक्तिलाई नराम्रा लतमा जान नदनि पनि सबैको भूमिका आवश्यक छ ।”

त्यसैगरी धूमपान नियन्त्रणका अभियन्ता मदन चन्दले युवालाई लागुऔषधको कुलतबाट बचाउन अभिभावक बढी जिम्मेवार हुनुपर्ने उनले बताए । “चौतर्फी खुला सिमानाका कारण यहाँ प्रहरी प्रशासनबाट पनि लागुऔषध नियन्त्रणमा चुनौती छ ।” उनले भने, “छोराछोरीको आनीबानी, उसको चालचालन थाहा हुने पहिलो अभिभावकलाई नै हो ।” उनले स्थानीय सरकारले पनि लागुऔषध नियन्त्रणका लागि पहल गर्नुपर्नेमा जोड दिए ।“प्रहरी र हामीले कक्षा सञ्चालन गरेर मात्रै पुग्दैन ।” प्रउ चौधरीले भने, “युवा शक्ति लागुऔषधको लतमा फसे समाज नै कता जाने भन्ने चिन्ता छ ।” रासस



प्रतिक्रिया दिनुहोस्