Logo

ओली आफ्ना विरोधीको पनि घोर विरोधी खोज्दै ‘आइरन कट आइरन’ को रणनीतिमा



काठमाडौं, ८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा लामो योगदान दिएकालाई पन्छाएर नवप्रवेशीलाई चुनावमा टिकट वितरण गरेमा आश्चर्य नमाने हुन्छ । सत्ता गठबन्धन विरोधीहरुलाई पनि बालकोट बोलाएर ओलीले गोप्य सम्झौताहरु गर्न थालेका छन् ।

चुनावमा गठबन्धन एक भएर जाँदा एमालेलाई धक्का पुग्नसक्ने रिपोर्ट बालकोट पुगेपछि ओलीले छानी छानी गठबन्धनलाई धक्का दिन सक्नेलाई भेट्न थालेका छन् । उनले कतिपयलाई पार्टीमा भित्राइसकेका छन् । नभित्रिएकाहरुलाई पनि चुनवमा सहयोग गर्ने आश्वासन दिइरहेका छन् ।

नेकपा फुट्दा ओलीले लामो समय प्रचण्डनिकट मानिएका बादल, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई आफ्नो पक्षमा ताने । उनीहरुले खुलेरै प्रचण्डविरुद्ध बोले ।

रवीन्द्र मिश्रलाई भेटेर ओलीले एक मुठ्ठी सिक्का दिएर गजबकै सन्देश दिए । पहिलो सन्देश मिश्र आफूसँग माग्न आएकाले भीक्षा दिएको जस्तो देखाइदिए र दोस्रो आफ्नो कारण चुच्चे नक्शा बनेको प्रचार गराउन खोजे । उनले मिश्रलाई पनि चुनावमा साथ दिने आश्वासन दिएर पठाए ।

पछिल्लो समय ओलीले अझै प्रचण्डसँग रहेका नेताहरु तान्न खोजिरहेका छन् । उनले माधव नेपालनिकट रहेका केहीलाई पनि तानिसके । विगतमा माधव नेपालनिकट रहेका गोकर्ण बिष्ट, रघुजी पन्त, योगेश भट्टराईलगायतलाई ओलीले पक्षमा ल्याउन सके । अहिलेपनि नेपालनिकटहरुलाई तान्ने रणनीतिमा ओलीको सक्रियता देखिन्छ ।

जसपाका कतिपय नेता कार्यकर्तालाई ओलीले पार्टीमा धमाधम तानिरहेका छन् । उनीहरुका कारण उपेन्द्र यादवलाई धक्का लाग्ने देखिदैछ ।
पछिल्लो समय ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाका विरोधी काँग्रेस नेता तथा कार्यकर्ताहरु खोज्न थालेका छन् । काँग्रेस छाडेका विद्रोहीहरु पनि खोजी खोजी भेटिरहेका छन् । लामो समय देउवानिकट रहेका कर्ण मल्लले काँग्रेसबाट निष्काशित भएपछि काँग्रेस वीपीमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् । उनीसँग ओलीले बालकोटमा शुक्रबार साँझ अढाई घन्टा कुराकानी गरेपछि बालुवाटारको कान ठाडो भएको छ । मल्ल देउवाविरुद्ध डडेलधुराबाट चुनाव लड्ने तयारीमा छन् ।

काँग्रेसबाट विद्रोह गरेका चितवन, रौतहट, काठमाडौं र ललितपुरका कतिपय नेता कार्यकर्तालाई ओलीले सम्पर्क गरेर आइरन कट आइरनको रणनीति बनाउन थालेका छन् । यसले चुनावमा धेरै एमाले नेता कार्यकर्ता टिकटबाट वञ्चित हुनुपर्ने सम्भावना बढ्न थालेको छ । अर्कोतर्फ, विद्रोह गरेकाहरुले बाजी मार्ने सम्भावना पनि बढेको छ ।



प्रतिक्रिया दिनुहोस्