Logo

हाम्रो हारालुछ देखेर विरोधीले खिसीट्युरी गरिरहेका छन्ः चित्रबहादुर केसी



काठमाडौं, १४ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ गठबन्धन दुई महिनासम्म सिटको खिचातानीमै अलमलिएको बताएका छन् ।
“सिट बाँडफाँट अझै पनि छलफलमै छ । हिजो राति भएको भए म अपडेट छैन । बेलुकी ८ बजेसम्म सहमति भएको थिएन । हरेक पार्टीमा नेता व्यवस्थापनको चिन्ता छ, राष्ट्र र जनताको चिन्ता छैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले भने ।
गठबन्धनको हारालुछ देखेर विरोधीले खिसीट्युरी गरिरहेको पनि उनले बताए । केसीले थपे, “खालि सिटको खिचातानी गरेर समय बरबाद गर्नुहुँदैनथ्यो । यसरी दुनियाँ हँसाउनुहुँदैनथ्यो । होचो–अग्लो मिलाएर समयमै चुनावमा जानुपर्थ्र्यो । हाम्रो हारालुछ देखेर विरोधीले खिसीट्युरी गरिरहेका छन् । यसले राम्रो सन्देश गएको छैन । सांसद-मन्त्री नभईकन बाँच्नै नसकिने त होइन नि ।”
नेता केसीले मुलुकको आवश्यकता भएर नै गठबन्धन बनेको दाबी गरे । उनले थपे, “राजनीतिमा नैतिकता र इमानजमान हुनुपर्छ । राजनीति भनेको आफूलाई बनाउने र आफ्ना मान्छेलाई बनाउने व्यवसाय होइन । राष्ट्र र जनतालाई केन्द्रमा नराख्नु राम्रो होइन । गठबन्धन मुलुकको आवश्यकता भएर नै बनेको हो । अझै पनि मिलेर जान आवश्यक छ ।”
तपाईंहरुलाई केपी शर्मा ओलीसँग किन यति धेरै डर भन्ने पत्रकार धमलाको प्रश्नमा केसीले भने, “२०७४ मा हामीले ओलीलाई मदत गरेको हो । सहकार्य पनि गरेको हो । तर उहाँमा ‘मै सबथोक हुँ’ भन्ने पर्‍यो । संसद् भत्काएको भत्कायै गर्नुभयो । प्रजातान्त्रिक शक्तिसँग पहिले पनि सहकार्य भएकै हो । यसमा अन्यथा मान्नुपर्ने कुनै कुरा छैन ।”



प्रतिक्रिया दिनुहोस्