Logo

मिथिलाञ्चलमा झिझिया नृत्य हुँदै



जलेश्वर, १४ असोज । वडादसैँको आगमनसँगै महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा पर्साको तराई–मधेसका सम्पूर्ण जिल्ला तथा भारतको सीतामढी र मधुवनी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा झिझिया नृत्य सुरु भएको छ ।

सुख, समृद्धि र पारिवारिक सुरक्षाको लोक अनुष्ठानका रुपमा झिझिया नृत्य महोत्तरीलगायत मिथिलाञ्चलभरि सुरु भएको छ । यस नृत्यमा पूर्णरुपमा तान्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी दुर्गा स्तुतिको लोक परम्परामा आधारित लोकनृत्य प्रस्तुत गरिन्छ । झिझियाको उद्देश्य समाजमा रहेका बोक्सीबाट आफ्ना सन्तानको सुरक्षा गर्नु रहेको छ ।

झिझियाको बनावट र स्वरुपभित्र जादू टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो भएको असङ्ख्य प्वाल पारिएको घैँटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ ।

समाजमा प्रचलित आम विश्वासअनुसार गाउँकी बोक्सी महिला जादू मन्त्र सिकेर त्यसको सिद्धिका लागि गाउँका जन्मजात, बालबालिकालाई कुनै कारणीद्वारा मारेर मसानमा त्यही मरेको बच्चालाई ज्यूँदो पारी नाङ्गै नृत्य गर्छ ।

विजया दशमीका अवसरमा यस्ता घटनामा वृद्धि हुन थालेपछि महिला नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको सुरुआत गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्न बोक्सीको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ । आफ्ना शाखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ । झिझिया लोक नृत्यको अर्को उद्देश्य दशमीका बेला माता दुर्गालाई स्तुति गर्नु पनि रहेको छ ।

झिझिया लोकनृत्य सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा क्षेत्रलगायत भारतीय क्षेत्र बेनीपट्टि, मधुवनी, जयनगर, सीतामढी, सहरसा आदि क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । झिझियामा प्रयोग हुने घैँटोमा गरिएका असङ्ख्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकाको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसको नीहित विशेष अर्थलाई सङ्केत गर्छ । महिलाको टाउकामा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्यो भने त्यो नाच्ने महिला ठहरै हुन्छ भन्ने जनविश्वास रहेको छ ।

यसमा देवी स्तुति गरिएको र बोक्सीलाई गाली गरिएको गीत प्रस्तुत गरिने चलन रहेको छ । यसमा पाँचदेखि २५ महिलाको टोली हुन्छ । त्यसमध्ये एक वा दुई जनाको टाउकोमा घैँटो राखिएको हुन्छ ।

एक विशेष ताल र आरोहअवरोहमा गाइने गीतको बोलसँगै टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै दुवै हातले गीतको भाउ र लयमा ताली बजाउँदै जाँदा अदूत वातावरणको निर्माण हुन्छ र महिला यस लोक अनुष्ठानमा सुर बिर्सेर तल्लीन भइरहेका हुन्छन् । नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली गरिएको हुन्छ, बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ भन्ने जनविश्वास पनि रहेको छ । झिझिया नृत्यमा बोक्सीलाई गाली मात्र गरिँदैन उसलाई यसरी धम्क्याउने काम पनि गरिन्छ ।

मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । गाग्रीमाथि धधकिरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन हो झिझिया नृत्य । समाज रुपान्तरणका क्रममा रहेको समयमा यो लोकनृत्य आज पनि गाउँघरमा मात्रै नभई सहरमा समेत प्रचलनमा छ र यसलाई निरन्तरता दिइँदैछ ।

बास्तवमा नृत्य प्रदर्शन गर्ने कला पनि हेर्ने योग्य हुन्छ । चार÷पाँच वर्षका बालबालिकादेखि लिएर तरुणी र अधबैंसेसम्म यस नृत्यमा सहभागी हुने गर्छन् । टाउकोमाथि राखिएको घैँटो र त्यसमाथि उज्यालो दिइरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैँमा एउटा ठूलो कलाको प्रदर्शन गर्नु हो । खासगरी यसरी नृत्य गर्दा बोक्सीको शक्ति क्षीण हुन्छ भन्ने जनविश्वास छ । नृत्यका बेलामा बोक्सीलाई सक्दो गाली गरिन्छ ।

बोक्सीलाई आधार मानेर यस संस्कृतिलाई निरन्तरता दिनु अन्धविश्वासबाहेक अरु केही मान्न नसकिने भन्नेको पनि कमी छैन । झिझिया नृत्यमा प्रदर्शन गरिने कलालाई रुपान्तरित समाजमा परिस्कृत गर्दै अगाडि बढ्दा झिझिया नृत्य अझै लोकप्रिय र समाजले त्यसबाट केही लिनसक्ने कुरा संस्कृतिविद् ध्रुव रायले बताए । रासस



प्रतिक्रिया दिनुहोस्