Logo

हामी ‘कम्प्रोमाइज’मा जान्छौं, गठबन्धन भत्काउँदैनौंः सोमप्रसाद पाण्डे



काठमाडौं, १५ असोज । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले पार्टीको बटमलाइन २३ सिट भए पनि अन्तिममा सम्झौता हुने बताएका छन् ।
“पाँच दलीय गठबन्धनमा हाम्रो बटमलाइन २३ सिट हो । ती स्थानमा हाम्रो उम्मेदवारीले अत्यन्त राम्रो परिणाम दिनेवाला छ । तर भागबन्डा मिलाउँदा १७, १८ पर्ने देखियो । अन्तिममा पार्टी कम्प्रोमाइजमा जान्छ । गठबन्धनबाट बाहिरिँदैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने ।
सिटका बारेमा नेपाली कांग्रेसमा केही समस्या देखिए पनि अन्य दलभित्र त्यस्तो समस्या नभएको उनको दाबी छ । सल्यानका लागि तपाईंको पार्टी अध्यक्ष माधवकुमार नेपालले किन मरिहत्ते गर्नुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा पाण्डेले भने, “पात्रका हिसाबले प्रकाश ज्वाला उपयुक्त उम्मेदवार हुनुहुन्छ भन्ने हाम्रो भनाइ हो । उहाँले प्रतिनिधिसभादेखि संविधानसभा, प्रदेस सभासम्म जित्नुभएको छ । तर त्यहाँ अघिल्लो पटक माओवादी केन्द्रको सिटिङ एमपी भएकाले टुंगो लगाउन बाँकी छ ।”
आफ्नो पार्टीले लुम्बिनीमा ५, बागमतीमा ४, मधेसमा ३ र प्रदेश १ मा ४ सिट माग गरेको पनि उनले बताए । पाण्डेका अनुसार अन्तिम बाँडफाँटमा नेपाली कांग्रेसले ८५, नेकपा (माओवादी केन्द्र) ले ४५–४७, एकीकृत समाजवादीले १७-१८ सिट, जनमोर्चाले १ सिट र बाँकी जनता समाजवादी पार्टीले पाउने छन् ।

 



प्रतिक्रिया दिनुहोस्