Logo

एमाले, लोसपा, जनमत पार्टीसँग सहकार्य हुन सक्छः जसपा नेता



काठमाडौं, १६ असोज । जनता समाजवादी पार्टी (जसपा) का नेता विजय यादवले आफ्नो पार्टी  गठबन्धनबाहिर सहकार्यका लागि खुला रहेको बताएका छन् । “जसपा गठबन्धनबाट बाहिरिएको होइन । पार्टीको हैसियत अनुसार सिट पाउने स्थिति नबनेपछि हामीले गठबन्धनबाहिर पनि सहकार्यका ढोका खुला गरिदिएका छौं । अब एमाले, लोसपा, जनमत पार्टी जोसँग पनि सहकार्य हुन सक्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।
सिट बाँडफाँट कार्यदलले फरक फरक प्रतिवेदन दिएकाले गठबन्धनबाहिर सहकार्यका लागि तयार भएको पनि उनले औंल्याए । यादवले भने, “जहाँ जहाँ गठबन्धन हुन्छ, त्यो ठीकै छ । नभएको ठाउँमा अन्य दलहरुसँग को-अर्डिनेसन गर्छौं । त्यसमा एमाले पनि पर्छ । एमालेसँग पनि मिलेर जान सकिन्छ ।”
कार्यदल सदस्य राम सहाय यादव, मनीष सुमन, रकम चेमजोङको ब्रिफिङ अनुसार नयाँ कदम चालेको पनि उनले बताए । यादवले थपे, “कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाजीमै ‘कन्फ्युजन’ छ । कांग्रेसलाई अप्ठ्यारो भएपछि हामी किन गठबन्धनमा अलमलिने ? कांग्रेसभित्र समस्या छ । बागी उम्मेदवारी उठाउने कुरा पनि आइरहेको छ । कांग्रेसले आफ्नो व्यवस्थापन राम्ररी गरोस् । हामी सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो जोसँग पनि कुरा गर्न स्वतन्त्र छौं ।” जसपाले गठबन्धनमा ३२ सिट मागेको पनि उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्