Logo

दसैंको टिकाको दिन नै सिट बाँडफाँटबारे सहमति गरेर सरप्राईज दिन्छौं : देव गुरुङ



काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले दसैंको टिकाको दिन भएपनि सिट बाँडफाँटबारे सहमति हुने दाबी गरेका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिएलगत्तै पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले यस्तो दाबी गरेका छन् ।

उनले आजपनि सबै पक्षबीच मिहिन ढंगले छलफल भएको जनाए । त्यसपछि माओवादी र कांग्रेसका नेताहरुले जसपासँग छुट्टै छलफल गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा करिब १५० सिटमा सहमति भएको दाबी गरिएको छ । कतिपय क्षेत्रमा भने दुई भन्दा बढि दलको दाबी रहेको कारण सहमति जुट्न नसकेको बताईएको बेलामा गठबन्धनको मुख्य घटक माओवादीका महासचिव गुरुङले भने दसैंंको टिकाको दिनसम्म सहमति जुट्ने दाबी गरे ।

उनकाअनुसार कांग्रेसका केही शीर्ष नेताहरु जिल्ला जानु परेकोले भोलि बैठक बस्ने सम्भावना छैन् । तर, टिकाको दिन साँझसम्म सहमति जुट्ने उनको दाबी थियो । गठबन्धनमा अहिले जसपाले सम्मानजनक सिट नपाए गठबन्धन छोड्ने चेतावनी दिएको छ । उसले एमालेसँग सहकार्यको लागि हात अघि बढाउन खोजेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले यो बीचमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगपनि एक्लाएक्लै भेटवार्ता गरेका छन् । ओलीसँगको यादवको सहकार्यको प्रयासलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि नजिकबाट नियाँलिरहेका छन् । यो थाहा पाएर देउवा र दाहालले भने जसपालाई केही बढि नै सिट दिएर भएपनि गठबन्धनमा नै राख्ने प्रयास गरिरहेका छन् । तर, जसपाले भने आजभोलिभित्रै सहमति नभए गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । उसले कसैसँग गठबन्धन नभएपनि एक्लै चुनाव लड्ने बताएको छ । file photo



प्रतिक्रिया दिनुहोस्