Logo

दुर्गापक्षको नवौँ दिन मनाइयो महानवमी



काठमाडौं, १८ असोज । प्रत्येक वर्ष आश्विनशुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइएको छ । कुल परम्पराअनुसार महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइएको छ ।

दसैँ घर र कोतलगायत राज्यका विभिन्न देवीमन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशति (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिइएको छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । आश्विनशुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिएको छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।

यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजाआराधना गरिएको छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गीनिशाना पूजा र कोतपूजासमेत गरिएको जनाइएको छ ।

तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजन हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज हजारौँ भक्तजनले दर्शन गरेका छन् । आज लाम लागेका सबै भक्तजनलाई रातिसम्म मन्दिर खुला गरेर भए पनि दर्शन गराउने तयारी गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्