काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले काठमाडौंका मेयर बालेन्द्र शाहलाई गरिब र श्रमिकमाथिको अमानवीय अत्याचार बन्द गर्न चेतावनी दिएको छ । दाहालको सचिवालय सदस्य रमेश मल्लले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो चेतावनी दिएका हुन् ।
हालै महानगरले काठमाडौंको थापाथलीमा एक महिलाको ठेलागाडा खोसेको थियो । महिलाले भने ठेलागाडा छोड्नै नमानेर धरधरी रोएको तस्विर भाईरल भएको थियो । यही सन्दर्भमा दाहालको सचिवालय सदस्यसमेत रहेका माओवादी नेता मल्लले यस्तो बताएका हुन् । उनले गाँस, वास, कपास, शिक्ष, स्वास्थ्य र रोजगारीको संवैधानिक व्यवस्था कार्यान्वयन गर्न पनि माग गरेका छन् ।
उनले लेखेका छन्-
काठमाडौंमा भइरहेको गरिब र श्रमिकमाथिको अमानवीय अत्याचार बन्द गर ! गाँस,वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको संबैधानिक व्यवस्था कार्यान्वयन गर ! तिनै तहको सरकारको मुख्य प्राथमिकता नागरिकको जीवन जिउने अधिकारको ग्यारेन्टी गर्नु हो- त्यसको प्रत्याभूत गर ! राज्यले दायित्व पूरा गर, जनताले कर्तव्य पूरा गर्छन!! नागरिकलाई गरिखान देउ !!





प्रतिक्रिया