चितवन, कात्तिक २ । चितवनको निर्वाचन क्षेत्र नं १ मा दुई अर्थविज्ञबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। नेकपा (एमाले)बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेस (गठबन्धन)बाट विश्वनाथ पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो।
अर्थ मन्त्रालय सम्हालेर सफल अर्थमन्त्रीको छवी बनाएका पाण्डे र योजना आयोगको उपाध्यक्ष पद छाडेर संसदीय राजनीतिमा पहिलो पटक निर्वाचनमा उम्मेदवार भएका पौडेल अहिले जनता रिझाउन प्रचारमा लागेका छन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार बनेका पौडेललाई बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले समर्थन गरेका छन्। यस निर्वाचन क्षेत्रमा पाण्डे दुई पटक निर्वाचित भएका छन्। अहिले उनी तेस्रो कार्यकालको लागि चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेसले नयाँ अनुहारको उम्मेदवार चुनावी मैदानमा उतारेर जित हासिल गर्ने योजनामा रहेको छ।
उनको कार्यकालमा विकासका योजना ल्याएको र इतिहासलाई हेर्दा यस क्षेत्रमा एमालेको वर्चस्व भएकाले कांग्रेसका उम्मेदवारलाई जित हासिल गर्न चुनौती देखिएको छ। २०७४ सालमा बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले ५१ हजार ८० मत प्राप्त गरेका थिए। त्यतिबेला उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए।
२०७४ सालमा भारी मतले विजयी भएका पाण्डे अहिले एमालेको जनमत झन् बढेको उनको भनाइ छ। “चितवन–१ मा मात्र होइन, देशभर नै एमालेको जनमत बढेको छ। स्थानीय तहको चुनावको परिणामले नै यसलाई पुष्टि गरिसकेको छ, केही सिट कम भए पनि मतका हिसाबले एमाले पहिलो पार्टी हो ।” नेता पाण्डेले भने।
नेपाली कांग्रेसका चितवन क्षेत्र नं १ का सभापति किरणभूषण ओली भने एमालेले भन्दै आएको विरासत भत्किने दाबी गर्छन्। “२०५६ सालमा यस क्षेत्रमा सावित्री बोगटीले जित्नुभएको हो, यसलाई कांग्रेसले फेरि अहिले फर्काउँछ,” उनले भने। एमालेको जनमत टुक्रिएर क्षयीकरण भएको उनले भनाइ छ।
क्षेत्र १ (क)बाट उम्मदेवारसमेत रहेका ओलीले गठबन्धनबाट कांग्रेसका युवा नेता पौडेल चुनावी मैदानमा रहेका र अरू कुनै उम्मेदवार नभएको बताए। यस क्षेत्रमा अहिले कांग्रेसका बागी उम्मेदवार बनेका राजेन्द्र बुर्लाकोटीलाई यसअघि दुई पटक पाण्डेले पराजित गरेका थिए । गोरखापत्र दैनिकबाट




प्रतिक्रिया