Logo

अझै पनि सडक, बिजुली र खानेपानीको समस्यामा स्थानीयवासी



रेसुङ्गा (गुल्मी), २१ कात्तिक । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका मुक्तिराम न्यौपाने अहिले ७६ वर्ष पुगे । उनी दिगामको बोखरमा आएर नेताले गर्ने प्रत्येक भाषणको साक्षी छन् । विसं २०४८ देखि प्रत्येक उम्मेदवारको भाषण सुनेका उनी यसपटक पनि बोखरमा भाषण सुन्न गए । उनले कुनै नयाँ कुरा सुनेनन् , नेताहरूको उही पुरानै भाषणले वाक्क लाग्यो । आफूहरू २०४८ सालदेखि सडक, बिजुलीबत्ती र खानेपानीको समस्याबाट ग्रसित भइरहेको तर नेताको भाषण भने आकाश धर्ती छुनेजस्तो रहेको मुक्तिरामले बताए । ‘‘हामी अहिले पनि आधारभूत आवश्यकताको माग गरिरहेका छौंँ तर नेता भने हाम्रो कल्पना भन्दा बाहिरको कुरा गर्छन् । हामीलाई चिल्ला भाषण होइन, सडक, बिजुली र खानेपानी चाहियो ।” उनले पहिलो विकास अन्तर्गत स्थानीयवासीको आधारभूत आवश्यकता पूरा हुनुपर्ने माग राखे ।

सोही ठाउँका अर्का स्थानीय विष्णुप्रसाद न्यौपानेले पनि आफूहरूको समस्या एकातिर नेताको कुरा अर्कोतिर भइरहेको बताए । उनले नेपालभन्दा पछाडि परेका कैयौँं देश अहिले विकासको शिखरमा पुगेको तर आफूहरू अहिले पनि सडक, बिजुली र खानेपानीको समस्याबाट ग्रसित भइरहेको उल्लेख गरेको । बताए । दिगामको सातमुरेका स्थानीय तारापति ज्ञवालीले आफूहरूलाई सडकको निकै समस्या भएको बताए । सातमुरेका स्थानीयवासी हिउँदमा सडक धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने समस्याबाट ग्रसित भइरहेका छन् । “हाम्रो गाउँमा आउने सडक लुम्छादेखि सातमुरेसम्म निकै जोखिम सडक भएकाले बर्सेनि सास्ती खेप्न बाध्य भएका छौंँ” स्थानीयवासी ज्ञवालीले भने, “यो सडकको स्त्तरोन्नति गरेर ग्राभेलसँगै कालापत्र पनि हुनुप¥यो ।” उनले यस सडक तत्काल बनाउन उम्मेदवारसँग माग राखे ।

सोही ठाउँका अर्का स्थानीयवासी लोकनाथ पन्थले पनि आफूहरू लुम्छादेखि सातमुरेसम्मको सडकबाट निकै समस्या रहेको गुनासो गरे । पन्थले पहिले सडक सुधार, दोस्रो खानेपानी व्यविस्थत र तेस्रो नियमित बिजुली बत्तीको माग राखे । उनले जसले जिते पनि दिगामवासीको लागि यी समस्याको समाधान हुनैपर्ने माग उम्मेदवारसँग राखेको बताए । अर्का स्थानीयवासी सुमित्रा पन्थले पनि दिगामवासीका लागि लुम्छमदेखि सातमुरेसम्मको सडक अपरिहार्य भएको बताए । उनले यस सडकले दिगामको भविष्य बदल्ने भएकाले उम्मेदवारले जितेपछि सडकको सुधार गर्न नितान्त आवश्यक रहेको बताएका छन् ।

यी मात्र होइन, ग्रामीण क्षेत्रका अधिकांश स्थानीय अहिले पनि सडक, बिजुली र खानेपानीको समस्याबाट ग्रसित छन् । स्थानीयवासीले निर्वाचनको लागि गाउँगाउँमा आएका उम्मेदवासँग दुई दशकदेखि सडक, बिजुली र खानेपानी माग्दै आए पनि अझै समस्याको समाधान भने हुनसकेको छैन । अहिले पनि टोलटोलमा आएका उम्मेदवारसँग स्थानीयवासीले आफूहरूलाई भइरहेका समस्या राखे पनि पूरा हुने विश्वास आफूहरूमा नभएको स्थानीयवासी बताउँछन् ।

सिद्धबाबाको जोखिम कायमै

छत्रकोट गाउँपालिका–४ का स्थानीय नारायण पाण्डेले गुल्मीले पटकपटक मन्त्री र केन्द्रीय नेता पाउँदा पनि सिद्धबाबाको जोखिम कायमै रहनु लाजमर्दो रहेको बताए । गुल्मेलीले हरेक वर्ष सिद्धबाबाको जोखिमयुक्त सडकका कारण अकालमा ज्यान गुमाउनु परेको छ । पाण्डेले भने, “नेता र मन्त्री हुनेले यसतर्फ चासो नेदाएनन्, हामीलाई सधैंँ जोखिममा हिँड्न बाध्य बनाउने अवस्थाले विकास हुँदैन ।” सिद्धबाबामा निर्माण हुने भनिएको सुरूङमार्ग निर्माणमा ढिलाइ भइरहँदा पनि नेता बोल्न नसकेको पाण्डेले आरोप लगाए । “घरबाट जाँदा सधँै बुटवलको गोलपार्क पुगेको र घर आउँदा दोभान आइसकेको खबरले मात्र घरपरिवार उत्साहित हुने अवस्थाले नेतालाई नछुने रहेछ” उनले भने । सिद्धबाबा सडक मात्र नभइ दिगामवासीलाई स्थानीय सडक, बिजुली र व्यवस्थित खानेपानीको समस्या रहेकाले उक्त समस्याको समाधान हुनुपर्ने पाण्डेले माग राखे।

आरोप–प्रत्यारोपमा उम्मेदवार

दिगामका स्थानीय नीलकण्ठ न्यौपानेलाई उम्मेदवार आरोप–प्रत्यारोपमा बढी केन्द्रित देख्दा दिक्क लाग्छ । उम्मेदवारहरू विकास निर्माणका काम मात्र नभइ चुनावी कार्यक्रमका लागि टोलटोलमा जाँदा आफ्ना एजेण्डातर्फ ध्यान नदिने तर एकापसको गालीगलौजमा भने बढी केन्द्रित हुनेगरेको उहाँ बताउछन् । यहाँका स्थानीयवासीले २०४८ सालदेखि निरन्तर उम्मेदवारसँग सडक, बिजुलीबत्ती र खानेपानीको समस्या राख्दै आएका छन् । निर्वाचन जितेपछि नेता गाउँ नफर्किने बानीले स्थानीयवासीको समस्यामा केही परिवर्तन आउन सकेको छैन ।

उनले दिगामलगायत क्षेत्र नं १ मा विकास नहुनुको कारण पनि नेताहरूको श्रेयको होडबाजीको कारण भएको दाबी गरे । उनी भन्छन्, ‘‘क्षेत्र नं १ का अन्य धेरै ठाउँमा एक नेताले गरेको काममा अर्को नेताको बेवास्ताका कारण विकासका निर्माणका काम पूरा नभएको हो ।’’ विसं २०६४ देखि नेपाली कांग्रेसका चन्द्र भण्डारी र नेकपा (एमाले)का प्रदीप ज्ञवालीले पालैपालो चुनाव जित्दै आएका छन् । यसपटकको निर्वाचनमा पनि उनीहरु दुबै जनाबीच प्रतिस्पर्धा हुँदैछ । स्थानीयवासीले राखेका समस्यालाई उम्मेदवारले आफूलाई विजयी बनाएमा समस्याको समाधान हुने आश्वासन व्यक्त गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot