Logo

सुदूरपश्चिममा कांग्रेस अगाडि



काठमाडौं, मंसिर ९ । सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ मध्ये अहिले ११ क्षेत्रको परिणाम सार्वजनिक भएको छ । चार क्षेत्रको मतगणना भइरहेको छ । बाजुराको एक मतदान स्थलमा भने मङ्सिर १० गते मतदान भएपछि मात्र गणना हुने सम्भावना छ ।

अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेसले छ, नेकपा (एकीकृत समाजवादी) तीन र नागरिक उन्मुक्ति पार्टीले दुई क्षेत्रमा विजय हासिल गरेका छन् ।

नेपाली कांग्रेसबाट अहिलेसम्म डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, दार्चुलाबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, कञ्चनपुर क्षेत्र नं २ बाट एनपी साउद, कञ्चनपुर क्षेत्र नं ३ बाट रमेश लेखक, कैलाली क्षेत्र नं ४ बाट वीरबहादुर बलायर र अछाम क्षेत्र नं २ बाट पुष्पबहादुर शाह विजयी भएका छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको अछाम क्षेत्र नं १ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर विजयी भएका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी)कै नेताहरू क्रमशः बझाङबाट भानुभक्त जोशी र डोटीबाट प्रेम आलेमगर विजयी भएका छन् ।

यस्तै कैलाली क्षेत्र नं। १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी विजयी भएकी छन्। यसअघि कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी विजयी भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्