Logo

काठमाडौंका नवनिर्वाचित कांग्रेस सांसदको प्रश्न– उपत्यकामा एउटा वडाध्यक्ष पनि नजितेको माओवादीले किन ६ सिट लियो ?



काठमाडौं, ९ मंसिर । काठमाडौं ३ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता सन्तोष चालिसेले जनादेश अनुसार मिलिजुली सरकार चलाउनुको विकल्प नभएको बताएका छन् ।
‘अहिले कुनै पार्टीको बहुमत आउने देखिएन । जनताले दुई ठूला पार्टीलाई विश्वास गरेका छन् । जनताले झगडा चाहेको पनि होइन तर मिलिजुली सरकार बनाऊ भन्ने जनादेश छ । अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ । र, अहिलेको अवस्था परिवर्तन नगर्ने हो भने मुलुक चल्दैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै चालिसेले भने ।
कांग्रेसबाट अबको प्रधानमन्त्री को हो भन्ने अर्को प्रश्नमा चालिसेले थपे, ‘अब प्रधानमन्त्री को बन्छ, म बाटोबाटोमा भन्दै हिँड्दिनँ । म पार्टीको निर्णय मान्ने मान्छे हुँ । पार्टीभित्रै धेरै आकांक्षी छन् । यो खुसीको कुरा हो । शेरबहादुर दाइ प्रधानमन्त्री भइसकेका मान्छे, फेरि हुन्छु भन्नु ठूलो कुरा होइन । गगन थापा महामन्त्री हो, तीनचोटि सांसद भइसकेको मान्छेले प्रधानमन्त्री हुन्छु भन्नु पनि अन्यथा होइन । रामचन्द्र पौडेल वरिष्ठ नेता हो । प्रकाशमान उपप्रधानमन्त्री भएको नेता हो । पार्टीमा यसमा विवाद हुन्न । मुलुकमा प्रधानमन्त्री पाँचवटा हुन्छ र ? एउटै हुने हो । नेताहरुको दुईतीन बसाइमा कुरा मिल्छ ।’
माओवादी केन्द्रले त कांग्रेसले धोका दियो भन्दै छ नि भन्ने अर्को प्रश्नमा चालिसेले भने, ‘गठबन्धनलाई म गलत भन्दिनँ । यो कसैको चाहेको होइन, समयले मागेको हो । दुई पार्टी बनाएर जानुपर्छ भनेको देखियो जनादेश । जनताले मन पराएनन् । माओवादीले स्थानीय तहमा १३० सिट जितेको ठाउँमा किन टिकट नमागेको ? काठमाडौं, पाटन र भक्तपुर माओवादीका सदस्य नै छैनन्, एउटा वडाध्यक्ष पनि जितेको छैन । ९० प्रतिशत मत अर्काले हालिदिन्छ ? धोका दियो भन्ने हो भने माधव नेपालले कसको आधारमा जित्नुभो ? धोका त हामीलाई उपेन्द्र यादवजीले दिनुभो ।’
विगतमा गोकर्णेश्वर नगरपालिकाको प्रमुख हुँदा गरेको कामले नै आफू जितेको उनको दाबी छ । चालिसेले भने, ‘मैले ४ चार हजारको मतान्तरले बहालवाला सांसदलाई जितें । पार्टीभित्र पनि अप्ठ्यारोपन आएको थियो । म गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा तीनतीनवटा कोभिडको लहर थामेर एक नम्बर पालिका बनाएँ । यहाँको सुकुम्बासी समस्या, सेनाले ढाट हटाउने, दिदीबहिनीको सुरक्षा ग्यारेन्टी, रोजगारी सिर्जना लगायत मेरा चुनावी एजेन्डा कार्यान्वयनमा लान्छु ।’

 



प्रतिक्रिया दिनुहोस्