Logo

लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट निर्वाचित



काठमाडौं, ९ मंसिर । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आज साँझ सम्पन्न मतगणना परिणामअनुसार ठाकुर १६ हजार तीन सय ७५ मत प्राप्त गरी विजयी भएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जानकारी दिएको छ । ठाकुरका निकटतम प्रतिस्पर्धी जसपा नेपालका हरिनारायण यादवले १४ हजार तीन सय २५ मत प्राप्त गरेका छन् ।

यसअघि यसै क्षेत्रबाट निकटतम प्रतिस्पर्धीभन्दा झण्डै तेब्बर मत पाएर जितेका ठाकुरले यसपालि भने कसिलो प्रतिस्पर्धा गर्नुपरेको छ । चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा आजै दिउँसो लोसपाकै वरिष्ठ नेता शरतसिंह भण्डारी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा भइसकेको छ ।

भण्डारीले २५ हजार एक सय ९० मत प्राप्त गरी जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी तमलोपा नेपालका डा विजयकुमार सिंहले ११ हजार १२० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–३ बलवाले जानकारी दिएको थियो ।

जिल्लाका अन्य दुई प्रतिनिधिसभा क्षेत्र १ र ४ को परिणाम आउन अझै बाँकी छ । यता जिल्लाका आठ प्रदेशसभा क्षेत्रमध्ये सात वटाको परिणाम सार्वजनिक भइसकेको छ भने महोत्तरी–१ ९१० को मतगणना जारी छ ।



प्रतिक्रिया दिनुहोस्