Logo

नुवाकोट–२ (२) मा कांग्रेसका बहादुरसिंह विजयी



नुवाकोट, मंसिर १० । नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेश–२ मा नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन् ।

आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका तामाङ १७ हजार दुई सय ४९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजयसिंह लामा (तामाङ)ले नौ हजार एकसय २४ मत ल्याएका छन् ।

यसअघि विसं २०७४ मा प्रतिनिधिसभा सदस्यमा समानुपातिक प्रणालीबाट सांसद हुनुभएका तामाङ विसं २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संंविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट साझारुपमा कांग्रेसका उम्मेदवार बहादुरसिंहले एमालेको उम्मेदवार विजयी सिंहभन्दा आठ हजार एक सय २५ बढी मत ल्याएर निर्वाचित भएका थिए ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रणप्रसाद न्यौपानेले दुई हजार छ सय २६, मङ्गोल नेशनल अर्गनाइजेशनका दिलमान तामाङले एक हजार ९०, हाम्रो नेपाली पार्टीका वसन्त सापकोटाले सात सय ३० र स्वतन्त्र उम्मेदवार सिंहराज लामाले ३० मत प्राप्त गरे ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटको दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा सदस्यको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एक–एक र प्रदेशसभामा दुई–दुई पद भागबण्डा गरेअनुसार सबै स्थानमा विजयी हासिल गर्न सफल भएका छन् ।



प्रतिक्रिया दिनुहोस्