Logo

गठबन्धनको बहुमत आयो भने प्रतिपक्षमा बस्छौं, २०४६ पछिका सबै भ्रष्टाचारको फाइल खोल्नुपर्छः शिशिर खनाल



काठमाडौं, १० मंसिर । काठमाडौं ६ का नवनिर्वाचित सांसद शिशिर खनालले पुरानो दल र नेतृत्वप्रति असन्तुष्ट मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुमोदन गरेको बताएका छन् । नयाँ सांसदले स्थानीय र राष्ट्रिय मुद्दामा जनआकांक्षा अनुसार काम गर्ने अवसर पाएको उनको स्वीकारोक्ति छ ।
‘मैले जितेपछि भीमसेनदास प्रधान सरले भेटेरै शुभकामना दिनुभयो । प्रधान सर र अर्का उम्मेदवार अग्रज व्यक्तित्व हुनुहुन्थ्यो । हामी गालीगलौज नगरी चुनावमा गयौं । शिष्टाचारपूर्वक लडियो । यो पनि राजनीतिक परिवर्तनको संकेत हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले भने ।
आफ्नो जितमा सामुदायिक काम पनि जोडिएको उनले बताए । क्षेत्रगत रुपमा सडक, खानेपानी, रोजगारीका समस्याका साथै सार्वजनिक शिक्षाको सुधारलाई उनले प्राथमिकतामा राखेका छन् । खनालले आफ्नो पार्टीले सेन्टर टु द लेफ्ट (समाजवादी धार) अँगाल्ने पनि बताए ।
नवनिर्वाचित सांसद खनालले गठबन्धनको बहुमत आयो भने पार्टी प्रतिपक्षमा बस्ने पनि औंल्याए । उनले थपे, ‘हाम्रो सहभागिताबिना सरकार नबन्ने क्रिटिकल अवस्थामा मात्र सरकारमा जान सक्छौं । मुलुकलाई फेरि आठदस अर्बको बोझ किन बोकाउने ? हामी सबैसँग समदूरीको संवादमा रहन्छौं । समीकरण कस्तो बन्छ ? हामी सरकारमा जानुपर्ने आवश्यकता हो कि होइन ? जनजीविका, शिक्षा स्वास्थ्य र रोजगारी र नेतृत्वको एजेन्डामा अलाइनमेन्ट हुन्छ कि हुन्न ?’
२०४६ पछिका सबै भ्रष्टाचारको फाइल खोल्नुपर्ने पनि उनले बताए । रास्वपाले अहिलेको स्थितिमा समानुपातिकतर्फ १७ देखि २५ सिट ल्याउने दाबी पनि उनले गरे ।



प्रतिक्रिया दिनुहोस्