Logo

कर्णाली प्रदेशमा गठबन्धनको बहुमत पुग्छ, हामी सरकार बनाउन सक्षम छौंः शाही



काठमाडौं, ११ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं हुम्ला प्रदेश (ख) का नवनिर्वाचित सांसद जीवनबहादुर शाहीले आगामी पाँच वर्षका लागि पाँच दलीय गठबन्धनकै सरकार बनाउनुपर्ने बताएका छन् ।
‘हाम्रो निर्वाचन प्रणालीका कारण कुनै दलले एकल बहुमत ल्याउन सक्ने अवस्था छैन । त्यसैले हामीले चुनाव अघि नै गठबन्धन गरेका थियौं । त्यो गठबन्धन एक हदसम्म सफल भएको छ । अब को पहिले को पछि प्रधानमन्त्री हुने रस्साकसीमा लाग्नुभन्दा पनि पाँच दलीय गठबन्धनलाई पाँच वर्षका लागि टुटाउनु हुँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शाहीले भने ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका शाहीले कर्णाली प्रदेशमा गठबन्धन पुग्ने भएकाले सरकार बनाउन समस्या नरहेको बताए । उनले थपे, ‘म निर्वाचित भएको हुम्लामा गठबन्धन पूर्ण रुपमा सफल भएको छ । कर्णाली प्रदेशमा पनि गठबन्धनको बहुमत पुग्छ । हामी सरकार बनाउन सक्षम छौं ।’ कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ २४ सिटमध्ये नेपाली कांग्रेस ९, माओवादी केन्द्र ९, एमाले ५ र स्वतन्त्र १ सिटमा विजयी भएका छन् । १६ सिटमा समानुपातिक प्रतिनिधित्व हुनेछ । शाही फेरि पनि मुख्यमन्त्री बन्ने विश्वास लिइएको छ ।
उनी प्रदेशसभामा दोस्रो पटक निर्वाचित भएका हुन् । उनले भने, हो, ‘हुम्लाका जनताले मप्रति असीम माया देखाउनुभएको छ । म निर्वाचित नहुँदासम्म हुम्ला आधुनिक हिसाबले एकदमै पछाडि थियो । टेलिफोन, बाटो, बिजुली, पानी, सिँचाइ थिएन । तर अहिले आफ्नो गच्छेअनुसार प्रशस्तै गरेका छौं ।’
तपाईं फेरि पनि निर्वाचित हुनुभयो तर हुम्ला धेरै समस्यामा छ, राष्ट्रिय सडक सञ्जालमा त जोडिन सकेन नि भन्ने पत्रकार धमलाको प्रश्नमा शाहीले भने, ‘कुन जनताको भनाइ सुन्नुभयो ? तर, १०, २० वर्ष अगाडिको अवस्था छैन । हुम्ला राष्ट्रिय सञ्जालमा जोडिन बाटो नजोडिएको सत्य हो । तर दोस्रो ठूलो जिल्ला हो । भौगोलिक विकटता छ । चट्टानै चट्टान छ । एक किलोमिटर बाटो बनाउन एकदुई वर्ष लाग्छ । अब आठ किलोमिटर बाँकी छ । हामीले जिल्लाभित्र हेलिकोप्टरबाट गाडी लगेर पनि चलायौं । म आफ्नो एक थोपा रगत र एक मुठी सास रहुन्जेल सेवा गर्छु ।’ जनसंख्या थोरै भए पनि कर्णालीको भूगोल ठूलो भएकाले बजेटमा केन्द्रले विचार गर्नुपर्ने पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्