Logo

कांग्रेस एमालेबीच उजुरीकै जुहारी



बाजुरा । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभासदस्य निर्वाचनमा धाँधली भएको भन्दै यति बेला बाजुरामा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच उजुरी दिने जुहारी चलेको छ ।

नेकपा एमालेले ११ वटा बुथ कब्जा गरी एकलौटी मत खसाएको आरोप लगाउँदै नेपाली कांग्रेस बाजुराले उक्त मतदान केन्द्रमा पुनः निर्वाचन गरिपाऊँ भनी मुख्य निर्वाचन कार्यालय बाजुरामा उजुरी दिएको छ ।

त्यसै गरी नेपाली कांग्रेसले १६ बुथ कब्जा गरी निर्वाचनमा धाँधली निम्त्याएको भन्दै नेकपा एमाले बाजुराले पनि गत साता मुख्य निर्वाचन कार्यालय बाजुरामा उजुरी दिएको छ ।

कांग्रेसको उजुरीमा नेकपा एमालेले जगन्नाथ गाउँपालिकाको वडा नं. २, ४ र ५ का मतदान केन्द्र, बूढीगंगा नगरपालिकाका नं. १, २, ३, ८ र ९ बूढीनन्दा नगरपालिकाको ४ र १० गौमुल गाउँपालिकाको १ र २ नं वडाका मतदान केन्द्रमा पुनः निर्वाचन गरिपाऊँ भनी एमाले उम्मेदवारविरुद्ध उजुरी दिएको छ ।

नेकपा एमालेले पनि त्रिवेणी नगरपालिकाको त्रिभुवनेश्वरी माविको बुथ केन्द्र, मस्टेश्वरी मावि केन्द्र वडा नं. ३, नाटेश्वरी आवि त्रिवेणी ७, नवदुर्गा बुथकेन्द्र वडा नं. ८, खप्तड क्षेडेदह गाउँपालिकाको वडा नं. २ र ४, बूढीगंगाको ४, ७ र ८ नं. वडामा पनि धाँधली भएको जनाएको छ ।

बूढीनन्दा नगरपालिकाको वडा नं. ५ र ७ त्यसै गरी हिमाली गाउँपालिका वडा नं ५, ६ र ९ नं. वडाको बुथमा धाँधली भएको भन्दै मुख्य निर्वाचन कार्यालय बाजुरामा उजुरी दिएको मुख्य निर्वाचन कार्यालय बाजुराका सहायक निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनुभएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।



प्रतिक्रिया दिनुहोस्