Logo

भत्काउँदै घर, बनाउँदै धनगढी



कैलाली, मंसिर ११ । धनगढीको कैलाली पुलदेखि चौकसम्म सधैंजसो ट्राफिक जाम भइरहन्छ। बाटो काट्दा पैदल यात्रु पनि हैरान छन्। झन् अस्पताल लाइनमा त साँघुरो बाटोका कारण जतिखेर पनि भीड हुन्छ। साँघुरो सडकले यात्रुलाई अत्यास लागिरहन्छ। हो, त्यही साँघुरो सडक चाक्लो बनाउन र पुरानो धनगढीलाई नयाँ बनाउन सडक किनारमा रहेका घर भत्काउने काम भइरहेको छ।

उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरेर तिहारलगत्तै सडकका दायाँबायाँ १५/१५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ। उपमहानगरको यो निर्णयलाई नगरबासीले खुलेर समर्थन गर्दै आआफ्नो संरचना भत्काउन सुरु गरेका छन्।

कैलाली पुलदेखि क्याम्पस चौकसम्मको करिब दुई हजार ३ सय मिटर सडक फराकिलो बनाउने योजनाअनुसार संरचना हटाउने काम भइरहेको छ। सडकको केन्द्र भागदेखि दायाँबायाँ १५/१५ मिटर सडक विस्तार गर्ने योजनाअनुसार असोज मसान्तसम्म संरचना हटाउन गत भदौ १३ गते धनगढी उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो।

व्यवसायीले दसैं, तिहार र छठ पर्व व्यापारको मुख्य समय भएकाले त्यस समयसम्म पर्खन आग्रह गरेका थिए। सोहीअनुसार छठ पर्वपछि मात्रै उपमहानगरपालिकाले संरचना भत्काउन सुरु गरेको थियो। कैलाली पुलदेखि क्याम्पस रोडसम्म दुई सय २९ भौतिक संरचना भत्काएर सडक फराकिलो बनाउने कार्यको सुरुवात भएको हो। सडक फराकिलो बनाउँदा कैलाली पुलदेखि क्याम्पस चौकसम्म २ सय २९ वटा घर भत्काउनुपर्ने अवस्था रहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल बताउँछन्।

साँघुरो सडकलाई चाक्लो बनाउने अभियानअन्तर्गत यहाँका घरधनीले सहयोग गरिरहेको बताउँदै उनले भने, ‘सरकारी स्वामित्वको सेती प्रादेशिक अस्पताल भवनमा निर्मित मुख्य सडकतर्फका सटरमा डोजर चलायौं। त्यसपछि यहाँका घरधनीले आफैं आफ्नो घर स्वतस्फूर्त रूपमा हटाउन थालेका छन्। यसले हाम्रो अभियानमा सहयोग पुगेको छ।’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्