Logo

कांग्रेस सहमहामन्त्री भन्छन्- संसदीय दलको नेतामा अहिले किन टाउको दुखाउने ?



काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले फेरि पनि गठबन्धनकै सरकार बन्ने ठोकुवा गरेका छन् ।
‘अहिलेसम्मको अवस्था हेर्दा पाँच दलीय गठबन्धनको प्रत्यक्ष र समानुपातिक गरी बहुमत पुग्छ । कतिपयले गठबन्धन चुनावसम्म जाँदैन भनेका थिए । अहिले पनि पनि गठबन्धनको सरकार बनाउन नदिन अनेक षडयन्त्र गरिरहेका छन् । तर गठबन्धनले नै सरकार बनाउँछ, यति कुरा बुझे हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्सुरले भने ।
उनले संघमा मात्र नभएर सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने पनि औंल्याए । मन्सुरले थपे, ‘राजनीति सम्भावनाको खेल हो । हाम्रो गठबन्धनमा जसपालगायतका दल आउने सम्भावना खुलै छ । आवश्यकता पर्यो भने सबैसँग सहकार्य हुन्छ । मधेस प्रदेशमा मात्र नभएर सातै प्रदेशमा गठबन्धनको सरकार बन्छ ।’
कांग्रेसले प्रत्यक्षमा धेरै सिट जिते पनि समानुपातिकमा एमालेभन्दा किन कमजोर भयो भन्ने पत्रकार धमलाको प्रश्नमा मन्सुरले भने, ‘यसपटक कांग्रेसले जम्मा ९० सिटमा लडेर गठबन्धनका सहयात्री दलहरुलाई सघायो । यसले गर्दा प्रत्यक्ष उम्मेदवार नभएको ठाउँमा समानुपातिक मत कम खस्यो । २०७४ मा हाम्रोभन्दा एमालेको एक सिट बढी थियो । यसपटक पनि एकदुई सिट फरक पर्ला ।’

उनले कांग्रेसको संसदीय दलको नेता निर्वाचन प्रक्रिया अनुसार चयन हुने पनि बताए । मन्सुरले भने, ‘यसमा अहिले टाउको दुखाउनुपर्ने कुरै छैन । सांसद साथीहरुले चाहना राख्नु स्वाभाविक कुरा हो । कुनै व्यक्तिका बारेमा म भन्न चाहन्नँ । सबै सांसदलाई दलको नेताको उम्मेदवार बन्ने अधिकार छ । यसलाई द्वन्द्व नभन्नुस् । द्वन्द्व छैन । दलमा बढी भोट ल्याउने नै नेता बन्छ, उही नै प्रधानमन्त्री हुन्छ । यो सबैलाई थाहा छ नि ।’



प्रतिक्रिया दिनुहोस्