Logo

एकै परिवारबाट विजयी सांसद



काठमाडौं, मंसिर १४ । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै परिवारका सदस्य तथा आफन्तहरू पनि विजयी भएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित जुली महतो सोही पार्टीका सचिव रघुवीर महासेठकी श्रीमती हुन् । महासेठ पनि धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन। महतो पहिलो पटक प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएकी हुन्। उनी यसअघि दुई पटक पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी थिइन् ।

धनुषामा २०४३ सालमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट हेमबहादुर मल्ल र उनकी श्रमती पनि विजयी भएका थिए । त्यतिखेर लोकप्रिय मत ल्याएर निर्वाचित भएका मल्ल दम्पतीसँग अहिले रघुवीरका दम्पतीलाई दाँज्ने गरिएको छ ।

सिराहा क्षेत्र नं ४ बाट निर्वाचित डा वीरेन्द्र महतो पनि जुलीका दाइ हुन् । उनी जनता समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनी निर्वाचित हुनुअघि माछापुच्छे« बैङ्क सञ्चालक समितिको अध्यक्ष थिए। प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै उनले बैङ्क अध्यक्षबाट राजीनामा दिएका छन्। बैङ्क सञ्चालक समितिको अध्यक्षमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा वीरेन्द्रकै दाइ डा उपेन्द्र महतो नियुक्त भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र उनका ससुराबुबा लालवीर चौधरी पनि यस पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। लालवीर टीकापुर हत्याकाण्डमा जेल सजाय भुक्तान गरिरहेएका रेशम चौधरीका बुवा हुन भने रञ्जिता श्रीमती ।

उक्त पार्टीले सुरुमा रेशमलाई बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको थियो तर जेल जीवन बिताइरहेको हुनाले निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्न सक्ने अनुमानका आधारमा सोही क्षेत्रमा उन्मुक्ति पार्टीले लालवीरलाई पनि स्वतन्त्र उम्मेदवारी दिन लगाएको थियो ।

पाल्पामा पनि एकै परिवारका दाजुभाइ दुई फरक जिल्लाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । पाल्पाको रामपुर निवासी राजुप्रसाद श्रेष्ठ पाल्पा १ (क)बाट पहिलो पटक निर्वाचित भएका छन्। उनका साहिँलो दाजु भोजप्रसाद श्रेष्ठ रुपन्देही २ (ख)बाट प्रदेश सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्