Logo

यथास्थितिको नेतृत्वले मुलुक चल्दैन, युवा विद्रोहको भाषा समयमै बुझौंः कांग्रेस नेता



काठमाडौं, १४ मंसिर । बर्दिया १ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले यथास्थितिको नेतृत्व मुलुक चल्न नसक्ने बताएका छन् ।
‘यसपटकको निर्वाचनमा हामीले सोचेजस्तो परिणाम आएन । हामीले जनतालाई विश्वासै दिलाउन सकेनौं । जनता दलहरुप्रति आश्वस्त देखिएनन् । तर जे जस्तो परिणाम आयो, त्यसभित्रै हामीले सुधार्ने, परिवर्तनको अनुभूति दिलाउने वा नयाँ सम्भावनाको खोजी गर्नुको विकल्प छैन । यथास्थितिमा मुलुक अघि बढ्न सक्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले भने ।
उनले चुनावमा युवा विद्रोहको भाषा अभिव्यक्त भएको पनि बताए । गौतमले थपे, ‘मुलुकले अब निकास खोजेको छ । त्यसमा हामी गम्भीर हुनैपर्छ । समयमै युवा विद्रोहको भाषा बुझ्नुपर्छ । आफूलाई सुधार गर्नैपर्छ । एक्सन र रिजल्ट ओरिएन्टेड हुनैपर्छ । नत्र नराम्रो परिस्थिति आउँदैछ मुलुकमा ।’
कांग्रेसबाट को प्रधानमन्त्री हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा गौतमले भने, ‘धेरै हाइपोथिटिकल प्रश्नमा नजाऊँ । सरकार गठबन्धन दलकै नेतृत्वमा बन्छ । गगन थापा वा शेखर कोइराला को हुन्छ, समयले बताउला । प्रधानमन्त्री वा मन्त्री जो पनि बन्न सक्ला । तर अब पनि युवाको नैराश्यता चिर्न सकेनौं भने हामी संकटमा पर्छौं । मुलुकको राजनीति कुन कोर्समा जान्छ, यसै भन्न सकिँदैन ।’
उनले आफ्नो क्षेत्रको विकासका लागि इमानदारीका साथ कोसिस गर्ने पनि बताए । गौतमले भने, ‘मैले बर्दियामात्र होइन, मुलुककै लागि काम गरेको छु । क्षेत्रगत रुपमा कृषि र पर्यटन मेरा प्राथमिकता हुन् । किसानले समयमै मल, बिउ, पानी, बजार पाउँदैन भने के विकास हुन्छ ? मेरो क्षेत्रमा सुकुम्बासी, नदी कटान, नाकाको समस्या छन् ।’

 



प्रतिक्रिया दिनुहोस्