Logo

महोत्तरीका झा दम्पत्ति हत्या प्रकरण : हत्यामा सम्लग्न परिवारले उल्टै छोरालाई दियो ज्यान मार्ने धम्की



काठमाडौं, १९ पौष । महोत्तरी पिपरा गाउँपालिका–५ सहोडबाका झा दम्पत्तिको हत्यामा पक्राउ परेका तीनजना अभियुक्तलाई छुटाउन चर्को दबाब आइरहेको छोरा मनिषा झाले बताएका छन् ।

२०७७ साल फागुन १० गते राति मुसाफिर झा र गीतादेवी झा दम्पत्तिको हत्या भएको थियो । प्रहरीले लामो अनुसन्धानपछि अभियुक्तहरुलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

झा दम्पत्तीको हत्यामा सम्लग्न तीनजनालाई अहिले जलेश्वर कारागारमा राखिएको छ । घटनामा संलग्न सहोडवाका ५२ वषीय रामबाबु यादब, कैलाश झा र भारत मधुवनी जिल्लाका मधवापुरका हरेन्द्र ठाकुर प्रहरीको हिरासतमा छन् ।

अदालती प्रक्रिया निकै सुस्त गतिमा भइरहेको झा दम्पत्तिका छोरा मनिषले दुखेसो गरे । रिपोर्टर्सनेपाल डटकमसँग कुरा गर्दै झाले आफ्ना बावुआमालाई अपहरण गरेर मार्नेमा सम्लग्न राजेन्द्र यादवले ज्यान मार्ने धम्की दिइरहेको बताए । उनले भने,‘उसले मलाई गाडी दुर्घटनामा गराएर मार्ने प्रयास गरेको थियो तर म भाग्यले बाँचे ।’

राजेन्द्र यादव दम्पत्तिको हत्याको आरोपमा पक्राउ परेका थिए । उनलाई घटनामा कम सम्लग्नता देखिएको भन्दै प्रहरीले धरौटीमा जेलमुक्त गरेको थियो । मनिष झाले मार्ने धम्कीका कारण आफूसहित परिवारै असुरक्षित महसुस भइरहेको बताए । प्रहरीको हिरासतमा रहेका झा दम्पत्तिको मुख्य योजनाकार जग्गा दलाली समेत रहेका हरेन्द्र ठाकुरलाई जलेश्वरको कारागारबाट सुनसरीको झुम्का कारागारमा पठाएको छ । ठाकुरले जेलमा धाँधली गरेपछि झुम्का पठाएको मनिष को दाबी छ ।

हरेन्द्र ठाकुर

सर्वोच्च अदालतका वकिल रत्नेश्वर शर्मा हरेन्द्र ठाकुरका भिनाजु हुन् । शर्माले आफूलाई पैसा लिएर हरेन्द्रको मुद्दा सल्टाउन पटकपटक आग्रह गरेको सुनाए । उनले भने,‘मलाई जति पैसा लिएपनि लिनु तर हरेन्द्रलाई बचाइदेउ भन्नुभएको छ धेरै पटक ।’ यद्यपि आफू पैसा नलिने बताए । शर्माले सर्वोच्च अदालतमा सेटिङ गर्न खोजिरहेको पनि उनले आरोप लगाए ।

मनिषले जनकपुर उच्च अदालतमा हरेन्द्रका अर्का भिनाजु देवेन्द्र ठाकुर निराला रहेको र उनले त्यहाँ सेटिङ गरिरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्