Logo

ला भिआ क्याम्पेसिनाको स्थायी कमिटी बैठक पहिलोपटक नेपालमा, खाद्य सम्प्रभुता लागु गर्ने निश्कर्ष (भिडिओसहित)



काठमाडौं, २ पुष । अन्तर्राष्ट्रिय किसान सञ्जाल (ला भिआ क्याम्पेसिना) ले किसानको अधिकारको लागि अधिकार कानून बनाएर लागु गर्ने निर्णय गरेको छ । ला भिआ क्याम्पेसिनाको नेपालमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अखिल नेपाल किसान महासंघले यस्तो जानकारी दिएको हो । अखिल नेपाल किसान महासंघ ला भिआ क्याम्पेसिनाको सदस्य हो । अहिले त्यसको नेतृत्वमा नेपाल रहेको छ । महासंघकाअनुसार पहिलोपटक ला भिआ क्याम्पेसिनाको स्थायी समितिको (आईसिसीको बैठक) नेपालमा बसेको हो ।

उक्त बैठकमा अहिले विश्व संकटमा रहेको निश्कर्ष निकालेको महासंघका महासचिव प्रमेश पोखरेलले जनाए । उनले भने,‘अहिले विश्व विभिन्न समस्या र संकटबाट गुज्रिरहेको छ । खाद्य, मूल्यवृद्धि, आर्थिक, युक्रेनमा युद्ध, जलवायु संकट, कृषिमा ठूलो संकट, युवाहरु पलायन भएका छन् । विश्वभरिका किसानका समस्याबारे घनिभुत छलफल भयो । हामीले निश्कर्षमा यो सबैको कारण पुँजीवादी व्यवस्था र नवउदारवादी नीति हो भन्ने निकालेका छौं । दोस्रो निश्कर्ष भनेको अब बाटो नबदलिनकन हुँदैन, त्यो भनेको खाद्य संकटको समाधान हो । अब समाजवादी बाटो अपनाउनुपर्छ । खाद्य सम्प्रुभताको कार्यान्वयन गर्नुपर्छ । किसान अधिकार कानून बनाएर लागु गर्ने निश्कर्ष निकालेका छौं । र, व्यापक महिला र युवाहरुलाई कृषिमा आकर्षित गर्नेगरि युथ ईन एग्रिकल्चर कार्यक्रम लागु गर्छौं ।’

आज किसानको अधिकारको घोषणापत्र जारी गरेको दिन भएकोले चौथो वार्षिकोत्सव पनि मनाईएको छ । सन् २०१८ डिसेम्बर १७ मा किसानको अधिकार घोषणा जारी भएको थियो । आजको पत्रकार सम्मेलन कार्यक्रमको अध्यक्षता गरेका अखिल नेपाल किसान महासंघका अध्यक्ष तथा राष्ट्रियसभाका पूर्व अध्यक्ष बलराम बाँस्कोटाले विश्वभरिका किसानका समस्या समाधान गर्न सबै एकजुट हुने बताए ।

सो क्रममा बाँस्कोटाले विश्वभरिका किसान उपेक्षित भएको सुनाए । उनले भने,‘किसानको हितको लागि आन्दोलित हुनुपर्छ । पिपुल्स ग्लोबोलाईजेशन हुनुपर्छ । खाद्य सम्प्रुताको कुरा गरेका छौं । ला भिआ क्याम्पेसिना ३० वर्ष लाग्यो । यसले ठूलो विजय प्राप्त गरेको छ । किसानका अधिकार स्थापित गरेका छौं । पहिचानसहित समर्पित किसानको कुरा छ, नेपालको किसान आन्दोलन दलको आन्दोलनभन्दा पाको छ । त्यसैले किसानका अधिकार स्थापित गर्न हामी अग्रसर हुनुपर्छ ।’

पत्रकार सम्मेलनको सञ्चालन महासंघका महासचिव एवम् ला भिआ क्याम्प्ेसिनाको एशियाको युवा संयोजक तथा आईसिसीको स्थायी कमिटी सदस्य प्रमेश पोखरेलले गरेका थिए । सो क्रममा फ्रान्सका मोर्गान, ईण्डोनिसियाका जाइनाल, क्यानडाका जोन, अमेरिकाका कार्लोश, ब्राजिलका हाईमी, पनाका पेट्रा, दक्षिण कोरिका किम, कंगोका अक्टान्से, हाइटीका डुडुलगायतका विश्वभरिका किसानका नेताहरु उपस्थिति थिए । उनीहरुले किसानको हकहितको कुरा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्