Logo

तनहुँमा बालसुधार गृह निर्माण हुँदै



काठमाडौँ,५ पुष । तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढकालटारमा प्रदेशस्तरीय बालसुधार गृह निर्माण भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तनहुँमा प्रदेशस्तरीय बाल सुधारगृहको भवन निर्माण अघि बढेको हो ।

भवनको शिलान्यास केही समय अगाडि महिला, बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले गर्नुभएको थियो ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ढकालटारमा बालसुधारगृह भवन निर्माण हुनु गाउँपालिकाको लागि पनि गौरवको विषय भएको भन्दै यसका लागि थप सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत् भवन निर्माण भइरहेको छ ।

भवन निर्माणको ठेक्का काठमाडौँस्थित फुल्जोर निर्माण कम्पनी प्रालिले पाएको छ । कुल रु तीन करोड ९५ लाख आठ हजार दुई सय पाँच लागत अनुमान गरिएकोमा रु दुई करोड ७० लाख २३ हजार तीन सय २५ मा ठेक्का लागेको छ । विसं २०८० असार ३१ गतेभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने म्याद छ ।

आर्थिक वर्ष २०७८र७९ को बजेटमा ढकालटारमा बालसुधार गृह निर्माण गर्ने सरकारले घोषणा गरेको थियो । सोही बमोजिम आर्थिक वर्ष २०७९र८० को बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बालसुधार गृहलाई बजेट विनियोजन गरिएको जानकारी गराउनुभएको थियो ।

ढकालटारमा बालगृह स्थापनाका लागि गतवर्ष सरकारले स्थलगत अनुगमन गरेको थियो । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्न लागेको हो । ढकालटारमा विद्युत् प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गरिनेछ । रासस

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot