Logo

प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमै सकस



काठमाडौं, पुस २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तारमा सकस परेसँगै सत्तारूढ दलसँग छलफलमा जुटेका छन् । यद्यपि, हिजो बिहीबार बस्ने भनिएको सत्तारूढ गठबन्धन बैठकसमेत हुन सकेन ।

सत्तारूढ दलबाट मन्त्री संख्या बढी र तोकेरै मन्त्रालय माग हुन थालेपछि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निरन्तर छलफलमा छन् । गत १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्ड विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार तयारीमा थिए । तर, २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत पाए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

विश्वासको मत पाएपछि बुधबार एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग उनले छलफल गरे । मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख नियुक्तिलगायत विषयमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संघीय र प्रदेश सरकार गठन भइसकेको तर त्यसलाई पूर्णता दिन बाँकी रहेकाले त्यसबारे दुई नेताबीच गम्भीर छलफल भएको छ । मुख्यतः संघीय सरकारको मन्त्रालय भागबन्डा र प्रदेश सरकारको भागबन्डा विषयमा छलफल भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot